इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) अहिले चर्चीत नाम हो । स्वतन्त्र उमेरदारी दिएर फराकीलो मतान्तरले विजयी भएका उनको देशैभरि चर्चा चुलिएको छ । केही समय अगाडी पत्रकार खोज्दै हिँड्ने साम्पाङ अहिले पत्रकारले अग्रिम समय लिनुपर्ने अवस्थामा पुगेका छन् । खानेपानी, चुरे दोहन, वीपी प्रतिष्ठान सुधार लगायत भ्रष्टाचार विरोधी अभियान चलाएर उनी स्थानीय निर्वाचनमा होमिए । २०७६ मा हजार मत पनि कटाउन नसकेका उनले यस पटक ४ दलीय गठबन्धनलाई पराजित गरे । पिए र बडीगार्ड नराख्ने, महँगा गाडी नचढ्ने जस्ता कुराले उनको लोकप्रियता झनै उँचो बनायो ।

सुरुवात देखी नै सामाजिक सञ्जाल त्यसमा पनि फेसबुकबाटै अभियान दह्रो बनाए । हर्क साम्पाङ अ रिभोलुसन नामको पेज सक्रिय छ। प्रतिपक्षी र क्रान्तिकारी चरित्र भएका साम्पाङ धरानको मेयर निर्वाचित भएपछि पनि फेसबुकमा निक्कै सक्रिय छन् । फेसबुक मार्फत उनी अझै पनि पुरानै चरित्र दोहोर्‍याउछन् । धरान बनाउने अभियानमा जोडिन आग्रह गर्दै आएका उनी राजनैतिक दलहरु प्रति रुष्ट देखिन्छन्। अहिले सामाजिक सञ्जालको शक्ति उनको पक्षमा छ। उनको विरुद्धमा कसैले पोस्ट गर्ने वा कमेन्ट गर्ने हिम्मत राख्न सक्दैनन्। 

मेयरमा निर्वाचित भएकै दिन ३ पटक लाइभ र १६ वटा फेसबुक पोस्ट गरेका छन् । त्यसको भोलिपल्ट पानी नआए फोन गर्नु भन्दै नम्बर दिए। सोही दिन पनि ५ वटा पोस्ट गरे। त्यसपछि लगातार आफूले गर्न खोजेको कामको बारेमा जानकारी गराउन दैनिक जसो फेसबुक लाइभमा आउँछन् । त्यसभन्दा बढी स्टाटसनै लेख्छन् । 

लाइभ र स्टाटसमा देखिएका सकारात्मक कमेन्टले उत्साहित छन् साम्पाङ । नगर सफा गर्ने देखी खानेपानी समस्या समाधान गर्ने र वीपी प्रतिष्ठान सुधार गर्ने उनको सङ्कल्प छ। तर कसरी गर्ने भनेर ठोस कार्य योजना तयार पार्न सकेका छैनन् । सडकबाट सिधै राज्यसत्तामा पुगेका उनी मुद्दामा प्रस्ट र काम गर्ने शैली बारे अस्पष्ट छन्। बाहिर लोकप्रिय प्रचार भए पनि भित्री तयारीमा उनले भूमिका देखाउन सकेका छैनन्। सप्तकोसीको पानी ल्याउने बाचा गरेका उनी त्यसको सम्भाव्यता र उपयोगीता बारे अनभिज्ञ छन् । 

सप्तकोसीको पानी ल्याउन भन्दै सबैको सहयोग मागेका छन् । बुधवार फेसबुक लाइभ मार्फत उनले काम गर्न धेरै चुनौती र समस्यासँग जुधेर अगाडी बढ्नुपर्ने बताएका छन् । “खानेपानीको समस्या समाधान गर्न भनेर कुदेको कुद्दै छु । खानेपानी सप्तकोसीबाट ल्याउने योजना छ। त्यही प्रतिबद्धतालाई अगाडी बढाउनुपर्ने भएको छ ।,” उनले भनेका छन्, “एक अर्ब देखी माथि लागत लाग्छ। जुन स्थानीय श्रोतबाट पुग्दैन। प्रदेश र सङ्घीय सरकारको सहयोग मागेका छौ । धेरै साथीहरूले आर्थिक रूपमा सहयोग गर्छौ भनिरहेका छन् । धरानको खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने धेरै छन् । सरकारी खाता नम्बर सार्वजनिक गरेर रकम सङ्कलन गर्नुपर्ने छ। सबै थोक सरकारले दिन्छ भन्ने हुँदैन । सरकारले नीति बनाउने हो । विरोध गर्ने साथीहरूलाई पनि धन्यवाद ।”

हिजो अरबौँको योजना फेल हुँदा, आन्दोलन हुँदा र आन्दोलनकारी पक्राउ पर्दा चुप लाग्नेहरू अहिले सरकारी खाता नम्बर खोल्छु भन्दा आत्तिएको उनको भनाई छ। आलोचना र विरोधले केही नहुने भन्दै सकारात्मक कुरा लिएर अगाडी बढ्न आग्रह गरेका छन् ।

आफुमात्र सफल नहुने र सबैलाई सफल बनाउने बताइरहेका साम्पाङ कार्यपालिकाका एक मात्र स्वतन्त्र जनप्रतिनिधि हुन् । नेकपा एमाले बहुमत सहित कार्यपालिकामा उपस्थित छ भने माओवादी केन्द्रबाट उपमेयर र काँग्रेसको पनि प्रभावशाली उपस्थिति छ । जसले गर्दा उनलाई कुनै पनि निर्णयमा दलका प्रतिनिधिको साथ र समर्थन आवश्यक देखिन्छ । कार्यपालिकामा बहुमत दललाई आफ्नो निर्णय लागु गराउन कार्यपालिकाको बैठक लाइभ गर्ने उनको तयारी छ । 

तर बाकी योजना कसरी पुरा गर्ने भन्ने लय समाउन सकेका छ्रैनन् । फेसबुकको चर्चा र सकारात्मक प्रतिक्रियाले पुलकित भएका साम्पाङको अगाडी ५ वर्ष भित्र अनेकन् समस्याका पहाड छन् । समयमै कामको नतिजा दिन नसके अहिले समर्थनमा देखिएका अभियन्ता केही महिनामै उनको विरोधमा उत्रिन सक्छन् । दलको विकल्पमा स्वतन्त्र अभियन्तालाई रोजेका धराने जनताको अपेक्षा पुरा गर्न नसके साम्पाङलाई धराने जनतालेनै पुनः सडकमा पुर्याउने प्रस्ट छ।