आदरणीय जनसमुदाय, 
हुन त पेसाले शिक्षक भएकाले कसैका लागि भोट मागिदिन वा कसैको चुनावी अभियानमा सरिक हुन मेरो पेसागत नैतिकताले दिँदैन। छनलाई त शिक्षक भएर खुलेआम राजनीति गर्दै पार्टीको नुन खानेहरू सहरमा प्रशस्तै छन् । तीनको चर्को ध्वनि नुनकै त असर हो। यस्ता पात्र जताततै छन्। यो चित्र भित्र मैले एक स्वतन्त्र उम्मेदवारको लागि भोट अपिल गर्दा त्यत्रो लजाउनु पर्ने वा धकाउनु पर्ने कारण त छैन। तथापि फेरि एक पटक म शिक्षक भएको र मैले कसैको लागि भोट माग्नु नैतिक रूपमा गलत भएको स्विकार्दै आदरणीय अभिभावक, विद्यार्थी, मैले काम गर्ने विद्यालय र सिङ्गो समाजलाई नै यो विशेष परिस्थितिमा यति गल्ती माफ गरिदिनुहुन अनुरोध गर्दछु र आफ्नो भनाइ राख्न चाहन्छु। 
१. हर्क साम्पाङले मलाइ चिन्दैनन् तर म उनलाई चिन्छु। उनले जनताको मुद्दा बोकेर हिँडेका छन्। उनले एक्लैदोक्लै बोल्दै गरेको मैले धेरै गल्ली र चोकमा अघिल्लो चुनावमा नै मैले देखेको हो।  उफृन्छन, कराउँछन्, थर्काउन खोज्छन्, पागल झैँ लाग्छन् घरीघरी, नाङ्गो डडेल्नु गीत गाउँदै फेसबुकमा पोस्ट्याउछन। यिनको पारा अलि अनौठो छ।आखिर कम्तीमा पाँच वर्ष देखि जनताको पक्षमा बोलिदिने धरानमा कोही त निस्केको छ। उनी अराजक होलान्, भइमान्छे होलान्, ठुलाठालु सङ लेबल नमिल्ला तर उनी सशक्त छन्।धरानवासी जनता झुक्याउने पार्टी र तिनका नेता भन्दा अलग छन्। बेलाबेला कुटाकुट गर्दै भोजपुर धनकुटा पुगेको सुनिन्थ्यो। आखिर यो सबै गरेको  उनले आफ्नो लागि हैन धरानवासीकै लागि फाइदा भएको छ। चाहे त्यो बिपी प्रतिष्ठानको विषय होस या पानीको होस या धरानका खोलानालाको गिट्टी ढुङ्गाको विषय होस या बालुवाको विषय। यी सबै मुद्दा विषय त जनता कै छन्। ढाका टोपी लगाएर हिँड्ने साम्पाङ मेरो भावना बोक्ने व्यक्ति हुन। यी चट्याक चुटुक भएर हिँड्दैनन् तर जनताका मुद्दा चैँ झोलाभरि बोकेर हिँड्दा रहेछन्।
२. म यो ग्यारेन्टी गर्न सक्दिन कि उनले जित्छन्। म यो पनि भन्दिन कि तपाईँ उनलाई भोट दिनुहोस् । तर मेरो एक भोट उनले अवश्य उनले पाउने छन्। उनले हारे नै भने पनि मलाई पछुतो हुने छैन। उनले जितुन् हारुन् जे गरून्। मैले उनलाई भोट दिएर फर्केको रात म ढुक्क सङ्ग निदाउने छु। मेरो विवेक माथि मलाइ गर्व हुनेछ।
३. सरकार चलाउनेहरू अन्तिममा राजनीतिक दलहरू नै हुन। तर तिनलाई सबक सिकाउन अनि योग्य उम्मेदवार छनोट गर्न बाध्य पार्न  हामीले हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्तिलाई एक मौका त दिनु पर्छ। जबरजस्ती उम्मेदवार थोपर्ने र नागरिकलाई रैती ठान्ने भ्रष्ट पार्टीहरूका विरुद्ध एक स्वतन्त्र नागरिकको लडाइ हो हर्क साम्पाङ ए रिभोलुसन।
हेमन्त दाहाल