चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा १ देखि ११ वटै वडाहरूमा वडागत योजना छनौट सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि विकासका योजनाको बारेमा स्थानीयको राय सुझाव लिन सुरु गरिएको हो ।
नगरपालिकाको परिपत्र अनुसार वडा कार्यालयले योजना बनाउन सुरु गरेको वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यले बताए।
वडाध्यक्ष आचार्यका अनुसार वडा नं ७ ले शनिवार देखी योजना बनाउन सुरु गरेको छ। वडामा रहेका केही टोल एकीकृत गरेर भेला गरेर स्थानीयसँग योजनाहरू माग गरिएको थियो। स्थानीयहरूको आवश्यकतालाई बुझेर योजना बारे छलफल गरिएको वडाध्यक्ष आचार्यले बताए।
त्यस्तै वडा नं ८ ले पनि योजना छनोट आइतबारदेखि सुरु गर्ने वडा अध्यक्ष रोशन खड्काले बताए । टोलटोलमा पुगेर स्थानीयहरूसँग योजना माग गर्ने वडाध्यक्ष खड्काले बताए । वडा नं ४ ले बिहीबार देखी नै योजना छनौट सुरु गरेको वडाध्यक्ष आशाराम चौधरीले बताए । वडा नं ४ को योजना छनोट आइतबार सकिने छ ।
वडा नं ५ ले पनि योजना छनोट कार्यक्रम सोमवारदेखि सुरु गर्ने वडा अध्यक्ष रोहित काफ्लेले बताए । टोलटोलमा पुगेर स्थानीयको आवश्यकता सङ्कलन गरिने वडाध्यक्ष काफ्लेले बताए । त्यस्तै वडा नं १० ले पनि सोमबारदेखि योजना छनोट गर्ने वडाध्यक्ष तेजबहादुर गुरुङले बताए । वडा नं २ ले आइतवारदेखि योजना छनोट गर्ने वडाध्यक्ष होमप्रसाद गौतमले बताए।