चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । परिणाममुखी शिक्षा, सबैको पहुँचमा पुर्‍याउन अभियानका साथ नगरपालिका लागिपर्ने नगर प्रमुख कार्कीले बताए ।
शुक्रवार वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दिमा रहेको जलदेवी आधारभूत विद्यालयमा आयोजित छात्रवृत्ति एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले वराहक्षेत्रको शिक्षालाई अब्बल बनाउने दाबी गरे । सामुदायिक विद्यालयको अनुगमन र निरीक्षण गरेर उत्कृष्ट शिक्षकलाई पुरस्कारसँगै अल्छी शिक्षकलाई दण्ड समेत गरिने बताए ।
नगरवासीलाई शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत आवश्यकता पूरा गर्ने योजना बनाएर नगरपालिका लाग्ने बताउँदै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक अवस्थालाई सुधार गर्न लागि पर्ने नगर प्रमुख कार्कीले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा वार्षिक परीक्षामा उत्तीर्ण हुने कक्षा १ देखि ८ सम्मका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रधान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरकुमार राईले विद्यालयको भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए । विद्यालयकी शिक्षिका विष्णु राईले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो ।