धरान : धरान खानेपानी समस्याबाट सधैँ काकाकुल हुने गर्दछ । बर्खायाममा जसोतसो खानेपानी समस्या केही हद सम्म समाधान जस्तै देखिए पनि सुख्खा याममा धरान काकाकुल हुने गर्दछ ।
यही खानेपानी समस्या हरेक पटकको चुनावको मुख्य एजेन्डा बन्ने गर्दछ । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि धरानको मुख्य राजनीतिक चुनावी एजेन्डा खानेपानी समस्या नै बन्यो । निर्वाचनमा पानीको राजनीति उधुमैले भयो । तर धरानको खानेपानी समस्यालाई मुख्य एजेन्डा बनाएर निरन्तर धरान र धरानेको समस्याको आवाज बनेर धरानेको साथमा रहेका सामाजिक अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए ।
यस पटक धरानेले राजनीतिक दललाई भन्दा स्वतन्त्र उम्मेदवार धरानेको साथमा रहेका भुईमान्छे हर्क साम्पाङलाई मन पराए । धराने जनताको भारी मतले हर्क साम्पाङ विजयी बन्दै धरानका मेयरमा निर्वाचित भए । उनी निर्वाचित भएको केही दिन देखिनै धरानको समस्यालाई सम्बोधन गर्ने गरी विभिन्न अभियानहरूको थलानी गरे ।
यी अभियानहरूमा धराने जनताहरूले मात्रै नभएर धरान बाहिरबाट आएकाहरूले पनि साथ सहयोग गरे । सबैको साथ सहयोगले आज धराने मेयरको अभियानले निकै सार्थकता पाएको छ । यसको ज्वलन्त उदाहरण हो धरान-२० स्थित पकुवा खोलाबाट धरान-११ र १७ बासीका लागि ल्याउन लागिएको खानेपानी ।
पकुवा खोलाबाट धरान-११ र १७ का बासिन्दालाई पानी खुवाउने गरी ल्याउन लागिएको पकुवा खोलाको पानी अव धरानमा आउन केही समय मात्रै लाग्ने भएको छ । अहिले जुन तरिकाले खानेपानी ल्याईदैछ त्यो हेर्ने हो भने लाखौँको परियोजनाले पनि नआउने खानेपानी धरानका मेयर हर्क साम्पाङ आफै फिल्डमा उत्रिए पछि अहिले तीन हप्ताको पेरीफेरीमा पकुवा खोलाबाट पानी ल्याउने अभियान अन्तिम अन्तिम चरणमा पुगेको छ ।
पकुवा खोलामा खानेपानीको मुहानमा २ वटा टङ्की निर्माण सम्पन्न भइसकेको छ । शनिवार पाइप टाङ्ने काम भएको छ । अव केही दिन भित्रै पकुवा खोलाको खानेपानी धरान आउने मेयर साम्पाङले बताए । मेयर साम्पाङको अभियानमा साथ सहयोग गर्न शनिवार पनि सयौँको सङ्ख्यामा श्रमदान गर्न धरान लगायतका स्थानबाट सहभागिता रहेको थियो ।









![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































