धरान : प्रजातान्त्रिक विचार समाज, सुनसरी जिल्ला समितिको आज शनिवार सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा यमनाथ बराल सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्ष निश्चल सुवेदी, सचिव कवीन्द्र भट्टराई, कोषाध्यक्ष रामदयाल यादव र सहसचिव सीता खतिवडा सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा नारायण भट्टराई, युवराज लुइँटेल, कृष्णप्रसाद गुरागाईँ, ओमप्रकाश ढकाल, डा.महानन्द तिम्सिना, मातृका प्रसाद नेपाल, अलिम अन्सारी, प्रवीण राई, अनिता राई र लक्ष्मीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत गङ्गाप्रसाद चौलागाईले घोषणा गरेका हुन् । 
यसअघि समाजका केन्द्रीय अध्यक्ष डा.केदार नरसिंह केसीले अधिवेशनको उद्घाटन गरेका थिए । उनले भने 'मुलुकको राज्यतन्त्रमा प्रजातान्त्रिक मूल्य मान्यता सङ्कटमा परेका बेला समाजको स्थापना भएको हो ।’ तिन दशक अघि कम्युनिष्टहरुले लोकतन्त्रको नाममा सत्ता कब्जा गर्ने उद्देश्यले असामान्य परिस्थिति सिर्जना गरेका बेला समाजको स्थापना भएको उल्लेख गर्दै उनले भने ‘मुलुकको अवस्था अहिले पनि त्यस्तै बनाउन खोजिएको छ ।’
नेपाली काँग्रेस मुलुकको शासन पद्धति प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा सञ्चालन गर्ने पार्टी भए तापनि समाज पार्टीको भातृ सङ्गठन, शुभेच्छुक सङ्गठन केही पनि नभई स्वतन्त्र सङ्गठन भएको बताउँदै केन्द्रीय अध्यक्ष डा.केसीले मुलुकको शासन प्रणाली प्रजातान्त्रिक पद्धतिमा सञ्चालन हुनुपर्ने विचारलाई समाजले दबाबको रूपमा बढाउँदै जानुपर्ने उद्देश्य राखेको उल्लेख गरे । 
प्रदेश १ का पूर्व प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले समाज प्रजातान्त्रिक विचारका बुद्धिजीवीहरूको सङ्गठन भएकोले देशको शासन प्रणालीलाई लोकतान्त्रिक ढङ्गमा अघि बढाउन वैचारिक गतिविधिहरू बढाउनु पर्नेमा जोड दिए । लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याउन अहिलेको गठबन्धनको भूमिकालाई बुद्धिजीवहरुले सही अर्थमा समीक्षा गर्न जरुरी भएको उनको भनाई थियो । 
समाजका पूर्व सुनसरी अध्यक्ष डा.आनन्द आचार्यले अहिले राज्य शासनयन्त्रमा बुद्धिजीवीहरूको कुनै भूमिका नभएको बताए । सरकारको नीति, निणर्यहरु प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित नहुँदा सुशासनप्रति जनताको विश्वास घटेको बताउँदै उनले भने ‘स्थानिय चुनावमा पचासौँ वर्षदेखिका दलहरूका नीति कार्यक्रमप्रति जनताले असन्तोष जनाएको जनाएको कुराले यसको पुष्टि गर्दछ ।’
उद्घाटनको अवसरमा समाजको पूर्व अध्यक्ष शिवनारायण साहलाई सम्मानित गरिएको थियो । महेन्द्र क्याम्पसमा ३५ वर्ष लामो प्राध्यापन सेवामा रही अवकाश ग्रहण गरेका साहले २०२९ साल देखी नेविसंघमा सक्रिय रही प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्दै आएका छन् । समाजका अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा भएको समारोहमा समाजका मोरङ अध्यक्ष वरिष्ठ अधिवक्ता भरत थापा, गिरिराज आचार्य, डा.महानन्द तिम्सिना, हर्ष सुब्बा लगायतले शुभकामना प्रकट गरेका थिए । कार्यक्रम सचिव निश्चल सुवेदीले सञ्चालन गरेका थिए ।