धरान : धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठक स्थगित भएको छ । 

निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको कार्यपालिका बैठक सुरु भएर धरान उपमहानगरपालिकामा आएका नयाँ कार्यकारी अधिकृतसँग परिचयात्मक कार्यक्रम पश्चात् नेकपा एमालेको संसदीय दलका नेता तथा १५ नम्बर वडाध्यक्ष नरेश इङवारामले आजको बैठक स्थगित गर्न माग गरेका थिए ।

बैठक स्थगितको माग गरेपछि मेयर हर्क साम्पाङले स्थगित गर्नुको कारणबारे सोध्दै गर्दा नेकपा एमालेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए । एमाले बाहेकका अरू सदस्यहरू बैठकमा बसेको भए पनि बैठकमा कोरम नपुगेपछि आजको बैठक त्यतिकै स्थगित भएको हो ।

बैठक बस्किार गरेर एमाले सदस्यहरू बाहिरिए पछि मेयर साम्पाङले के कारणले बैठक स्थगित गर्नुपर्ने हो ? आफू अनभिज्ञ रहेको बताउँदै यसबारेमा कार्यपालिका सदस्यहरूले आफ्नो धारणा नराखी बैठक कक्षबाट बाहिरिएकोले बैठक स्थगित गरेको घोषणा गरे । आजको कार्यपालिका बैठकमा नयाँ आएका कार्यकारी अधिकृतसँगको परिचयात्मक कार्यक्रम सँगै विविध गरी १७ वटा एजेन्डा माथि छलफल गरी निर्णय गर्नुपर्ने थियो । 

धरान उपमहानगरपालिकाको महत्त्वपूर्ण विषय बस्तुहरू माथि आज छलफल गर्नुपर्नेमा यसरी बैठक बहिस्कार गरेर बाहिरिनु दु:खद भएको बताउँदै उपमेयर आइन्द्रविक्रम बेघाले भने-'बैठक बहिस्कार गर्नु दुखद कुरो हो । कमसेकम आफ्नो धारणा राखेर बाहिरिएको भए हुन्थ्यो ।'

बैठक बहिस्कार गर्नुको कारण बारेमा आफूहरूलाई थाहा नभए बताउँदै नेपाली काँग्रेस संसदीय दलका नेता तथा १८ नम्बर वडाध्यक्ष नरेन्द्र कुमार राईले आफूहरू अनभिज्ञ भएको प्रतिक्रिया दिए । १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले पनि बैठक बहिस्कार गर्नुपर्ने बारेमा धारणा राखेर बाहिरिएको भए राम्रो हुने बताए । १६ नम्बर वडाध्यक्ष मुरारी भट्टराईले पनि धरानको पछिल्लो अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै कार्यपालिका बैठक स्थगित गर्नुपर्ने कारणबारेमा अनभिज्ञता प्रकट गरे ।

बहिस्कार होइन, स्थगितको माग : इङवाराम 

नेकपा एमाले संसदीय दलका नेता तथा १५ नम्बर वडाध्यक्ष नरेश इङवारामले आफूहरूले बैठक बहिस्कार नगरेको स्थगितको माग गरेको बताए । 

पछिल्लो समय धरानमा मेयर हर्क साम्पाङको कारण असहज परिस्थिति सिर्जना भइरहेको र मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिहरूले धरानलाई द्वन्द्व बनाउने सङ्केत देखिएकोले यसको पहिला निराकरण हुनुपर्ने र सहज वातावरण भएपछि मात्रै कार्यपालिका बैठक बस्नुपर्ने एमालेको धारणा रहेकोले बैठक स्थगित गर्न माग गरिएको इङ्वारामले बताए ।