चतरा : उदयपुरको डुम्रीबोटे भन्ने स्थानबाट फुटेको सप्तकोसी नदीका कारण जोखिममा परेको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९  श्रीलङ्का टप्पुवासीको दैनिकी सामान्य बन्दै गएको छ । गत बुधवार सप्तकोसीको बाँध फुटेर आएको बाढीले वराहक्षेत्र वडा नं ६ श्रीलङ्का टप्पुका करिब २० घर प्रभावित बनेका थिए ।

सप्तकोसी नदी फुटेर बनेको भङ्गालोमा पानीको मात्रा क्रमशः घट्दै गएको र घरमा पसेको पानी समेत सुक्दै गएकाले जोखिम घट्दै गएको स्थानीय बद्री राईले बताए । घरमा पसेको पानी समेत घट्दै गएको र प्रभावित परिवार समेत घर फर्कन थालेका छन् । वराहक्षेत्र वडा नं ६ र ९ मा बिद्युत समेत सुचारु भएको र दैनिकी समेत सामान्य बन्दै गएको छ । 

पानीको सतह बढेपछि जोखिम थप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले टप्पुमा रहेको काठे डुङ्गाको तथ्याङ्क लिएको छ। डुङ्गालाई व्यवस्थापन नगरपालिकाले गरीराखेको र थप आवश्यक कुराहरूको व्यवस्थापन नगरपालिकाले गरेको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । मङलवारदेखि नै नगरपालिकाले डुङ्गाको व्यवस्थापन गरेर भाटे पुलबाट स्थानीयहरूलाई आवतजावत गराउने प्रबन्ध मिलाइने नगर प्रमुख कार्कीले बताए ।

सोमबार नगर प्रमुख कार्की सहितको नगरपालिकाको टोली टप्पु पुगेर स्थलगत अवलोकन समेत गरेको छ। टोलीले टप्पुका स्थानीय कोसी प्रभावित परिवारसँग भेटघाट समेत गरेको थियो । स्थानीयले राहत भन्दा पनि दिर्घकालिन रूपमा कोसी कटान नियन्त्रण गर्नुपर्ने माग गरेका छन । बाढीले क्षति गराएको धान बालीको क्षतिपूर्तिको व्यवस्थापन  गराउनु पर्ने स्थानीयको माग रहेको छ ।

टप्पुमा नगर प्रमुख कार्की सहित प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वडा नं ६ का अध्यक्ष उद्भव प्रसाद पोख्रेल, प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई, सूचना अधिकृत पुकार पोख्रेल, नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर उपशाखाका सचिव रमेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पुमा करिब ८ सय परिवारका २५ सय जनसङ्ख्या  बसोबास गर्ने गर्दछन् । कोसीको बाढीको जोखिममा रहेको टप्पुवासीलाई सुरक्षित बनाउन दीर्घकालीन योजना आवश्यक रहेको नगर प्रमुख कार्कीले बताए ।

Tappu-2Tappu-3Tappu-4