चतरा : उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ।
२ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो।
बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणकोलागि निर्माण गरेको बाँधलाई फुटाए पछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिबार जोखिममा परेका छन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार अहिले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन् । डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उनले बताए ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको मेयर कार्कीले जानकारी दिए ।
कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र वराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ। 
जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । प्रभावित स्थानीयहरूलाई सुरक्षित गराउन नगरपालिका लागिपरेको नगर प्रमुख कार्की बताउँछन् । 
सप्तकोसीले ४०/५० बिगाहा जमिन कटान गरे पछि बाढी बस्तीतिर पसेको बेलका नगरपालिका वडा नं ८ का अध्यक्ष जयकुमार राईले बताए । सप्तकोसीले दैनिक रूपमा ३ देखि ५ मिटरसम्म कटान गरिरहेको थियो ।
koshi-katan-2