धरान  : थारु कला, संस्कृति प्रवर्द्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस थारु २०२२ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् । 
७ जिल्लाका प्रमुख सहरहरूमा सकिएको अडिसनबाट पुरुष र महिला गरी २५ जना छनौट भएका हुन् । गत साउन २१ गते ४ चार जिल्लामा अडिसन भएको थियो भने मंगलबार थप ३ जिल्लामा अडिसन सम्पन्न भएको छ । 
मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरी तीन जना छनौट भएका छन् । छनोट हुनेमा प्रवीण कुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी रहेका छन् । 
यस्तै लहान अडिसनबाट पनि तीन जना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी रहेका छन् । त्यसैगरि टिकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमङ्ग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् । 
यसै गरी गत शनिवार भएको झुम्का अडिसनमा १२ जना सहभागी जनाएकोमा सविना चौधरी, बन्धना चौधरी र आशिष् चौधरी छनोट भएका छन् । त्यस्तै वीरगन्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीन जना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी ४ जना छनोट भएका छन्  ।
त्यसैगरि नेपालगन्जमा अडिसनमा आशिष् थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरी ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन यही साउन २८ गते शनिवार काठमाडौँ, बुटवल र दाङमा हुनेछ । यस अडिसन पश्चात् छनोट भएकाहरूलाई काठमाडौँमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए । 
प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।