धरान : सत्ता गठबन्धन दलको दलीय संयन्त्रको पहल र अगुवाइमा धरान उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख सहित विभिन्न मन्त्रालयमा डेलिगेसन गएको छ ।
टोलीमा संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सिपी बजगाईँ रहेका छन् । टोलीले आइतबार स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीलाई भेट गरेको छ ।
स्वास्थ्य मन्त्रीसँग वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेफिसिट बजेट, शिक्षक कर्मचारीको वृत्ति विकास, एमआरआई मेशिन, आइसियु, डायलाईसिस, क्याथ ल्याब, कार्डियोलोजी सेन्टर र अन्कोलोजी सेन्टर निर्माण, आर्थिक कारोवारलाई एकद्वार नीति अवलम्बन गर्ने लगायतका बारेमा सकारात्मक छलफल भएको छ ।
साथै भदौ ५ गते स्थलगत निरीक्षण गर्न मन्त्री भवानी प्रसाद खापुङ धरान आउने भएका छन् । यसैगरी वराहक्षेत्र नगरपालिकाले चतरा अस्पतालका लागि एम्बुलेन्स र शव वाहन खरिद गर्ने भएमा सम्पूर्ण कर छुट गर्ने समेत निर्णय भएको छ । भेटमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि भेट गरेको छ । भेटमा बहुभाषिक विद्यालय निर्माण र सञ्चालन, नगरपालिकाको सहकार्यमा सिटिइभिटीवाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने भएको छ ।
टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग पनि भेट गरेको छ । मन्त्री कार्कीसँगको भेटमा धरानमा डाटा सेन्टर निर्माण गर्ने, धरानको समग्र विकासमा पूर्ण सहयोग गर्ने समेत बताए ।
टोलीमा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भीम राई, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरू बुद्धि कटवाल, डा. तुलसी गौतम, रोहित सुब्बा, सुरेन्द्र राई, काठमाण्डौं सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायतको सहभागिता रहेको छ ।










![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































