धरानका मेयर हर्क साम्पाङ/ नेकपा एमाले/ युट्युबर मित्रहरू,

जति बेला फेसबुक प्रारम्भ भएको थियो । त्यो समयमा फेसबुकमा लेखिएका, सम्प्रेषण गरिएका सूचनालाई अलिक विद्वान कहलिएका व्यक्तिहरूले हत्तपत्त विश्वास गर्दैन थिए । भनौँ निकै कम विश्वास थियो सामाजिक सञ्जालमा ।

आजभोलि भने फेसबुक लगायतका सामाजिक सञ्जालले गर्दा सूचनाहरू छिट्टै लक्षित समूह सम्म पुग्छ। यसले गर्दा छापा माध्यमका मिडियाहरू बिस्तारै बिस्तारै कमजोर बन्दै गएका छन्। त्यसैले प्रिन्ट मिडियाका धेरै पत्रकार साथीहरूले अनलाइन तथा युट्युब सञ्चालन गरेर समाजलाई सूचना,विचार,मनोरञ्जन पस्किरहनु भएको छ ।

उहाँहरूको योगदान सबै पक्षले सलाम गर्न आवश्यक छ । अनलाइन मिडिया चलाउन पनि त्यति सजिलो भने छैन । कार्यालय, क्यामरा, रेकर्डिङ, कर्मचारी, निरन्तरता, कानुनी झमेला आदिको व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै कठिन छ अनलाइन मिडिया चलाउन। 

तर, बेलाबेला अनलाइन मिडियाको सामाग्रीहरूले जनतामा भ्रम पनि सृजना गरेको देखिन्छ । यस्तो महत्त्वपूर्ण क्षेत्रमा दायित्व निर्वाह गरिरहनु भएका व्यक्तिहरूबाट समाजलाई भ्रम सृजना गर्ने सामाग्रीहरू किन गइरहेको छ भन्ने विषय पनि सोचनीय छ ।

म नेकपा एमालेको प्रदेश नं १ कमिटीको सदस्य छु । धरानमा गत स्थानीय तहको निर्वाचनमा मेयर तथा उपमेयरमा नेकपा एमाले हार्‍यो । लोकतन्त्रको सुन्दर पक्ष नै हो । चुनाव हराएर जनताले पनि कारबाही गर्न पाउने विषय । यही कारण राजनीतिक दल, दलका नेता सधैँ जनताप्रति उत्तरदायी रहनु पर्दछ । विज्ञहरू पनि यसै भन्छन् ।

जनता महान् हुन्छन् । जनतामै सार्वभौम सत्ता रहन्छ । धरानका जनताले पनि अहिले नेकपा एमालेका मेयर तथा उपमेयरलाई हराएर सार्वभौम सत्ताको प्रयोग गरेका हुन् । अर्थात् कारबाही गरेका हुन्।

जनताद्वारा गरिएका निर्णय, फैसलालाई राजनीतिक दलहरूले शिक्षाका रूपमा ग्रहण गर्दै अगाडि बढ्नु पर्दछ। धरानका जनताद्वारा गरिएका ती फैसलालाई नेकपा एमालेले हार्दिकता पूर्वक ग्रहण गर्दै अब आउने ५ वर्षसम्मका लागि समग्र धरानेहरुको मेयर हर्क साम्पाङ हुन ।  उनलाई सफल बनाउनु धरान सफल हुनु हो । उनी सफल हुनु भनेकै धरान सफल हुनु हो । नेकपा एमाले धरानभित्रको एक अङ्ग हो, नेकपा एमालेले बुझेको यही हो ।  नेकपा एमालेले मेयर हर्क साम्पाङलाई असहयोग गर्ने, जालझेल गर्ने, तानावुना बुनेर असफल बनाउने काम आजसम्म गरेको छैन।

तर,अफसोस युट्युब च्यानलहरूबाट 'नेकपा एमाले अनि धरानका लोकप्रिय मेयरका बिच अत्यन्तै दरार पैदा भइरहेको छ' भन्ने कतिपय भ्रामक सामाग्री बन्ने गरेको छ । किन यस प्रकारको भाष्य निर्माण गर्न खोजिन्छ ? समाजले पत्रकारहरू प्रति पूर्णविश्वास राख्छ । यहिकारण पत्रकारहरूको उचाइ समाजमा अलि माथि छ ।

कसैलाई अग्लो बनाउने, कसैको कद नै काटेर होचो बनाउने जस्ता काममा पत्रकारहरू हुनुहुन्छ भन्ने विश्वास मलाई रत्तीभर छैन । तर नेकपा एमालेले तपाईँलाई असहयोग गरेको छ नि ? भन्दै किन जस्ता प्रश्न बारम्बार मेयरलाई केही मित्रहरूबाट गरिरहेको देख्छु । अनि केही युट्युब अनि अनलाइनका समाचारहरूमा त्यस्तै अर्थ लाग्ने हुन्छन् । तिनै समाचार पढेर नेकपा एमालेलाई माया गर्ने अनि मेयर हर्क साम्पाङले अगाडि सारेका राम्रा कामको प्रशंसा गर्ने धराने जनताले मलाई पनि सोध्छन् । 

मेयरको कामलाई सहयोग एमालेले गर्नुपर्छ भन्ने सल्लाह दिन्छन् । प्रिय मित्रहरूलाई म विनम्रता पूर्वक भन्न चाहन्छु । के साँच्चिकै एमालेले मेयर साम्पाङलाई असहयोग गरिरहेको छ भन्ने यहाँहरूलाई लागिरहेकै हो त ? तपाईँहरू त ती बैठकहरूमा हुनुहुन्छ । कार्यपालिकाको कति बैठक भए ? बैठकका निर्णयहरूमा राजनीतिक दलहरूका बिचमा मतान्तर भई फैसला भएका विषयहरू के के हुन ? यो सवाल यहाँहरूबाट पनि कोड गरिएको जस्तो लाग्दैन ।

विषयवस्तुहरूमा आपसमा राम्रो बनाउन छलफल हुन्छ । छलफल २/३ दिन पनि लम्बिन्छ । छिन भरमा पनि सकिन्छ । टाउको हल्लाएर एक मत पनि बनाइन्छ । सवाल जवाफ गरेर पनि निष्कर्ष निकालिन्छ । यस्तै विधिहरू अपनाएर एक मतका साथ धरान उपमहानगरपालिका अगाडि बढिरहेको छ । मेरो बुझाई यही छ । यथार्थ पनि यही हो ।

आज-भोलि काठमाण्डौमा धरान छाएको छ । हाम्रा मेयर तथा उपमेयर विभिन्न सञ्चार माध्यहरूबाट हामीले देख्न पाइरहेका छौँ । उहाँहरूका विचार सुनिरहेका छौँ । कलाकार,पत्रकार,राजनीतिक व्यक्तित्व, वैज्ञानिक, डाक्टर सबैसित मेयर तथा उपमेयरले धरानको समृद्धि सँग जोडेर छलफल गरिरहनु भएको छ । धेरै खुसी लागिरहेको छ । 

यत्ति राम्रा कामहरूमा वर्तमान धरानका सङ्घीय माननीय जय कुमार राईलाई पनि यहाँहरूले साथमा डोर्‍याउनु भएको भए सुनमा सुगन्ध हुने थियो जस्तो लाग्छ । सायद उहाँ पनि काठमाडौँमा नै हुनुहुन्छ होला । २ दिन अगाडि मेयर सा'प र उपमेयर सा'पले काठमाडौँका एक च्यानलमा संयुक्त विचार प्रस्तुत गर्नु भएको थियो ।

त्यो च्यानलका पत्रकार मित्र पनि भ्रममा हुनुहुँदो रहेछ । उहाँको प्रश्न थियो कि एमालेले तपाईँहरूलाई असहयोग भइरहेको छ नि, किन ? जस्ता प्रश्नबाट कुराकानी प्रारम्भ भएको थियो । उहाँहरूको एक मतका साथ उत्तर थियो कि धरान उपमहानगरपालिका एक मतका साथ अगाडि बढिरहेको छ । सबै राजनीतिक दलको पूर्ण सहयोग छ ।

धरान भन्दा बाहिर बस्नु हुने महानुभावले धरानको विकाशमा हर्क साम्पाङलाई एमालेले असहयोग गरेको छ भन्ने भ्रम किन र कसरी छरियो ? भन्ने सवालले मलाई निकै चिन्तित तुल्याएको थियो । सायद भ्रममा रहनु भएका धरानको माया गर्नु हुने सबै महानुभावहरू के नेकपा एमाले/धरान उपमहानगरपालिका/मेयर/उपमेयरको सम्बन्धका बारे उहाँहरूकै मुखबाट मैले सुने जस्तै सबैले सुन्नु भयो होला भन्ने विश्वास राखेको छु । अतः सबै पक्षले आलोचना बुझेर गरौँ । जिम्मेवार सबै बनौँ । मेयर -उपमेयर काठमाडौँ जानू भएको उद्देश्यमा पूर्ण सफल रहनुहोस् ।

सवैमा नमस्कार ।