धरान : धरानमा यही भदौ १० गते हुने जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान-०७९ को अन्तिम तयारी पुरा भएको छ ।
धरानको भानुचौकमा दिउसो ३ बजे देखि हुने सो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्यतामा हुने आयोजक जेबी टुहुरे स्मृति फाउन्डेसनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
नेपालका जनपक्षीय तथा परिवर्तनकामी साङ्गीतिक अभियानका नक्षत्र जेबी टुहुरे (जुठ बहादुर खड्गी) को स्मृतिको सन्दर्भमा हुने जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान-०७९ कार्यक्रममा नेपालको प्रगतिशील साङ्गीतिक आन्दोलन तथा वर्तमान परिवर्तनका एक साङ्गीतिक सेनानीको सम्झनामा रचनाकार गीतकार लव प्रधान 'मित्र' लाई सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे, नेपाली काँग्रेस केन्द्रीय समिति सदस्य अमृत अर्याल जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, सल्लाहकार परिषद् सदस्य तथा पूर्व उपाध्यक्ष राष्ट्रिय जनसांस्कृतिक महासङ्घका जिवेन्द्रदेव गिरी, राष्ट्रिय जनमुक्ति पाटी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कार्यक्रम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा स्रष्टा सम्मान र दोस्रो खण्डमा साङ्गीतिक कार्यक्रम हुनेछ भने साङ्गीतिक कार्यक्रममा नेपालका खातीप्राप्त कलाकारहरूले गीतसङ्गीत प्रस्तुत गर्ने बताइएको छ । धरान कै 'नयाँ लहर' समूहबाट गीत सङ्गीतको क्षेत्रबाट जनजागरणमा लागेका टुहुरेको प्रथम वार्षिक स्मृति कार्यक्रम गर्न पाएको भन्दै यो कार्यक्रमलाई विशेष कार्यक्रमको रूपमा गर्ने गरी तयारी पुरा गरेको आयोजकले जनाएको छ ।
नयाँ लहर हुँदै, 'सङ्कल्प गीति कार्यक्रम' समूहमा पनि धरानबाटै टुहुरेले गीति यात्रा प्रारम्भ गरेका थिए । पहिलो पटक वि.सं ०३३ सालमा धरानको भूतपूर्व सैनिक विश्राम भवन धरान-१० मा पहिलो पटक ’आमा दिदी बैनी हो’ जस्तो कालजयी गीत सार्वजनिक गरेका थिए । यस अर्थमा पनि टुहुरेको पहिलो वार्षिक स्मृति कार्यक्रम जन्म नगरी धरानमा हुनु गौरवको विषय भएको आयोजकले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरेको छ ।
जेबी टुहुरे स्मृति फाउन्डेसनको आयोजना, खड्गी सेवा समिति धरानको संयोजक र धरान सङ्गीत प्रतिष्ठानको सहसंयोजकमा कार्यक्रम सम्पन्न हुने बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































