अर्जुन काफ्ले/पथरी

तेस्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको रौनक बढ्न थालेको छ । पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको स्तरवृद्धि र नयाँ प्रतिभाको पहिचानका लागी सुरु गरिएको लिगका दुई संस्करण भन्दा धेरै चर्चा तेस्रो संस्करणले पाउन थालेको छ । पथरीशनिश्चरे भित्रका विभिन्न ८ फ्रेन्चाइज टिमको सहभागिता रहेको लिगको उपाधि भित्राउने दाउमा टिमहरू रहेका छन् । दुवै लिगको फाइनल खेलेको सातवाघ दोस्रो पटक उपाधि जित्ने दौडमा छ ।
पहिलो संस्करण देखी क्लबमा रहेका अनीश लुइँटेललाई यसपटक पनि टिमले रिटर्न गरेको छ। लुइँटेल बाहेक पहिलो संस्करण देखिकै रहर लामा र केलिन राई समेत रिटर्न गरेको छ । अघिल्लो संस्करणको फाइनलमा जादुमयी वालिङ कला देखाएर सबैको मन जितेका अस्विन महतलाई समेत टिममै राखेको छ । त्यसो त टिमले पवन जैसवाल, पुकार राई, सिद्धार्थ धिमाललाई पनि तेस्रो संस्करणका लागी अनुबन्धन गरेको छ । उनीहरूले दोस्रो संस्करणको लिग जित्दा टोलीको साथमा थिए ।
यस पटक टोलीले ७ जना नयाँ खेलाडीलाई अनुबन्धन गरेको छ। अघिल्ला लिगमा व्यवस्थापकका रूपमा रहेका विरोज मगर खेलाडीका रूपमा टोलीमा भित्रिएका छन् ।
अघिल्ला संस्करणमा रहेका केही खेलाडी टोलीमा रहनेछैनन् । तर पनि टोलीलाई फाइनल सम्म पुग्नुपर्ने चुनौती छ । टिम मालिक समेत रहेका विरोज मगर भन्छन् ‘चुनौतीका बिचमा हामी फेरी आफ्नो पहिचान दिने प्रयासमा हुने छौ’।  टिमको आर्थिक भार खेप्ने अभिभारा पनि विरोज सँगै पवन र पुकारमा नै रहेको छ । विदेशमा रहेका साथीभाइ र क्रिकेट प्रेमीले पठाइदिने आर्थिक साहयता नै टिमको प्रमुख आम्दानी हुनेछ ।
गत वर्ष एक कम्पनीले प्रायोजन गरे पनि यस वर्ष कुनै व्यापारिक प्रतिष्ठान सँग प्रायोजनको सम्झौता भइसकेको छैन तर टिमका मालिक प्रायोजक भित्राउने लक्ष्यमा रहेका छन् ।
क्रिकेट बुझेका खेलाडीलाई निरन्तर प्रशिक्षण गराउने र प्रतिभा अनुसार मैदानमा प्रयोग गर्दै आएको सातवाघले सफलता प्राप्त गरिरहेको छ । ८ जना ब्याट्सम्यान रहेको बताउने टोलीमा ६ जना बलर रहेका छन् । अन्तिम ११ सम्मनै अलराउण्डर खेलाडी छन् ।
अनुसासनको कडीमा खेलाडीलाई राख्न सक्नु र आर्थिक मितव्ययी बन्नुनै टिमको मुख्य सफलताको पक्ष मान्छन् मगर । गतवर्ष १ लाख १० हजार खर्च गरेको टोलीले उपाधि यसपटक त्यही हाराहारीमा बजेट अनुमान गरेको छ ।
अनीश लुइँटेल लिगकै सफल खेलाडी हुन् उनी टोलीका खेलाडीका रूपमा नभई मेन्टरका रूपमा पनि काम गरिरहेका छन् । देशका विभिन्न क्रिकेट क्लबबाट आफ्नो प्रतिभा देखाइसकेका लुइँटेलले खेलको नतिजालाई परिवर्तन गर्ने खुबी राख्छन् । रहर लामा र केलिन राई सँग जिल्ला बाहिर गएर खेल खेलेको अनुभव छ।  
सन्तुलित टोली रहेको सातवाघले प्रतियोगिता अघि नै प्रदेश नम्बर १ का क्रिकेट कप्तान पुष्प थापालाई ल्याएर क्रिकेट खेलाडीको सिपलाई थप तिखार्ने योजना बनाएको छ ।
पिएसपिएलमा सफल मानिएको सातवाघले यस पटक कस्तो नतिजा ल्याउँछ त्यो भने प्रतियोगिता पछि नै भन्न सकिन्छ ।