इटहरी : नेपाली काँग्रेस इटहरीका पूर्व सभापति वीरेन्द्र कार्की चुनावी गतिविधिलाई नियाली रहेका छन् । स्थानीय निर्वाचनमा काँग्रेसले मेयर सहित ५ वडाध्यक्ष जितेकोमा उनी केही खुसी छन् । तर धेरै वडा गुमाउनु परेकोमा आन्तरिक व्यवस्थापनकै कमजोरी मान्छन् उनी । 
स्थानीय निर्वाचनको समयमा गठबन्धनको भागबन्डामा इटहरी उपमहानगरपालिका काँग्रेसको भागमा नपर्ने हल्लाले काँग्रेसी कार्यकर्ता निराश भएका थिए । एक अर्कामा प्रतिस्पर्धी देखिएका काँग्रेसी नेता कार्यकर्ता एकाएक एकजुट भए । पहिला आफ्नै पक्षका नेताले टिकट पाउनुपर्ने अडानमा रहेका उनीहरू पछि जसले पाए पनि काँग्रेसले पाए हुन्थ्यो भन्ने अवस्थामा पुगे । निर्वाचनको प्रचारको लागि तयार पारेको गीत आकस्मिक रूपमा सार्वजनिक गर्न सम्म भ्याए । 
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि इटहरीका काँग्रेसीमा चिन्ता देखिएको छ । सुनसरी क्षेत्र नम्बर २ र ३ मा इटहरीका १०/१० वडा पर्छन् । दुवै क्षेत्रमा प्रतिनिधिसभामा यसअघि नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । 
आगामी निर्वाचनमा प्रतिनिधिसभामा काँग्रेसले नै भाग पाउने भए पनि प्रदेशसभामा अन्य दललाई भोट हाल्नुपर्ने हो की भन्ने दुबिधा काँग्रेस कार्यकर्तामा बढेको छ । प्रदेशसभा तर्फ ३ (क) मा नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्ट र २ (क) मा माओवादी केन्द्रकी सरस्वती पोखरेलले टिकट पाउने चर्चाले काँग्रेस वृत्तमा निराशा बढेको हो । 
इटहरी ५ का वडा सभापति पराजुली गठबन्धनको कारण चुनावमा काँग्रेस एक पटक आत्तिनुपर्ने अवस्था आएको बताउँछन् । पहिलो पटक इटहरीमा काँग्रेसले नेतृत्व गर्न पाएको स्मरण गराउँदै उनले स्थानीय नेताहरूलाई न्याय हुने गरी टिकट वितरण गर्नुपर्ने बताए । 
इटहरी उपमहानगर उपसभापति बालकृष्ण विष्ट काँग्रेसले टिकट नपाउँदा कार्यकर्ताहरूमा चुनावी ऊर्जा नआउने बताउँछन् । गत निर्वाचनमा पनि प्रदेश गुमाउँदा निराशा बढेको भन्दै उनले गठबन्धनको भागबन्डामा सुनसरीका २ र ३ क्षेत्रका प्रदेश र प्रतिनिधिसभा काँग्रेसले पाउनुपर्नेमा जोड दिए । तथापि पार्टीले गरेको निर्णय मानेर जान आफूहरू तयार रहेको धारणा राखे । 
इटहरी काँग्रेसका युवा नेता तथा प्रदेश महाधिवेशन प्रतिनिधि विज्ञान राई हरेक चुनावमा यो समस्या आइरहेकाले दलहरू एकल एकल प्रतिस्पर्धामा जानुपर्ने बताउँछन् । वर्तमान समयमा भएको गठबन्धनले टिकट नपाउने पार्टीमा असन्तुष्टि बढ्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत गराए । एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधान विरोधी अराजक गतिविधिले अहिले गठबन्धन भएको भएपछि यस्तो अभ्यासलाई दीर्घकालीन रूपमा लिन नहुने उनको भनाई छ ।