धरान : सुनसरी ब्याडमिन्टन सङ्घको आयोजना तथा त्रियोग ब्याडमिन्टन क्लबको सहआयोजनामा सुनसरीको धरानमा प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। 
नवौँ राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन तर्फको छनौट सकिए लगत्तै खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । ब्याडमिन्टनको लागि उद्गम मानिने धरानमा निकै ब्याडमिन्टनका खेलाडी रहेका छन् भने  प्रदेश एक भरीका खेलाडीलाई भेला गरेर खेलाडीलाई हौसला दिने हिसाबले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएका छन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले खेलमा ऊर्जा र हौसलाको लागि बोर्ड सदैव तयार रहेको बताए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहिरहेको बेला धरानमा आयोजना भएको यो ब्याडमिन्टन प्रतियोगिताले नवौँको लागि छनौट भएका खेलाडीको लागि पनि सिक्न तथा सिकाउन मद्दत गर्ने बताएका थिए । 
आफू बोर्डमा रहुन्जेलसम्म खेलमा राजनीतिकरण हुन नदिने बताउँदै सदस्य सचिव वाग्लेले खेल नै भातृत्वको भावना जगाउने भएकाले सबै जात, धर्म तथा समुदाय खेलको माध्यमबाट एकै ठाउँमा उभिने चर्चा गरे । 
सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठ र सहआयोजक त्रियोग ब्याडमिन्टन क्लबका अध्यक्ष नकुल घले गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा त्रियोग ब्याडमिन्टन क्लबका सचिव ध्रुव याक्खाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा बोल्दै नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष चन्द्र शेखर लामाले भाइचाराको लागि ब्याडमिन्टन खेल महत्त्वपूर्ण रहेको चर्चा गरे । कार्यक्रमकै अवसर पारेर आयोजकले समाजसेवी तथा सफल व्यवसायी टङ्क बहादुर लिम्बु आर्थिक सहयोग गर्ने मैतरानी कन्दङ्गवा, मनिकुमारी राई, अमला गुरुङ तथा याङ्गला लामा शेर्पालाई सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि हंसराज वाग्लेले सम्मानित व्यक्तिलाई सम्मान पत्र तथा माला लगाएका थिए । 
राष्ट्रिय स्तरका रेफ्रि किरणकार रन्जितकारलाई ब्याडमिन्टनको कोट प्रमुख अतिथिले हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । प्रदेश एकका २०६ जना खेलाडी र अफिसियल कोच तथा प्रशिक्षकहरूको सहभागिता रहने आयोजकले बताएका छन् । खेल धरानको अमरहाट स्थित बहुउद्देश्यीय कभर्डहलमा भइरहेको छ ।