इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा इटहरी काँग्रेसले कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । 

इटहरीको लायन्स भवनमा आयोजित कार्यक्रममा अधिकांश वक्ताले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन लाग्नुपर्ने धारणा राखे । काँग्रेस भित्रको एकता कायम नहुँदा धेरै इटहरीका धेरै वडाध्यक्षमा पराजय भोग्नुपरेको नेता कार्यकर्ताको भनाई थियो । 

कार्यक्रममा सम्बोधन गर्दै नगर सभापति हेमकर्ण पौडेलले यो समय सामाजिक सञ्जाल चलाउने भन्दा जनताको घरमा गएर समस्या बुझ्ने समय भएको बताए । सामाजिक सञ्जाल हेरेर धारणा बनाउने र विषयवस्तुको गहिराइ सम्म नपुगी प्रतिक्रिया दिएर अराजनैतिक चरित्र प्रस्तुत नगर्न आग्रह गरे । 

इटहरी उपमहानगरपालिकाका मेयर समेत रहेको पौडेलले यस बिचमा व्यस्तताको कारण पार्टी कार्यकर्ता सँग नियमित भेटघाट नभएको र अब टोल, वडा र नगरका कार्यकर्तासँग परामर्श लिएर काम गर्ने प्रतिबद्धता जनाए । पार्टीकै बलमा आफू मेयर भएको बताउँदै उनले ५ वर्षसम्म कार्यकर्ताकै भावना अनुसार काम गर्ने धारणा राखे । 

महाधिवेशन प्रतिनिधि विकाश केसीले अहिलेसम्म मेयर पौडेलको कार्यशैली सकारात्मक नै भएको जनाए । काँग्रेस भित्रका समस्या बसेर छलफल गर्न सकिने भए पनि सामाजिक सञ्जाल मार्फत एउटालाई उचाल्ने र अर्कालाई गालिगर्ने प्रवृत्ति मौलाएको उनको भनाई छ । पार्टी भित्र सबैले अवसर पाउने बताउँदै उनले अहिल्यै पद नपाउँदैमा आत्तिने र नेताहरू प्रति गालीगलौज गर्ने काम बन्द गर्न आग्रह गरे । 

क्षेत्र नंं. ३ (१) का क्षेत्रीय सभापति दीपक ढकाल पार्टीका आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताउँछन् । काँग्रेसका उम्मेदवार पराजित भए लोकतन्त्र र देशले नै हार बेहोर्ने उनको भनाई छ ।

क्षेत्र नंं. २ (१) सभापति सुवेक्छु देवानले जीवन्त पार्टीमा गुट हुने भए पनि त्यसलाई व्यवस्थीत गरी रचनात्मक बनाउनुपर्ने धारणा राखे । लोकतान्त्रिक पार्टीमा गुट हुनु स्वाभाविक भएको बताउँदै उनले अबका युवा कार्यकर्ताहरू नयाँ अभियानको साथ अगाडी बढ्नुपर्ने बताए । 

उपमहानगर सचिव विक्रम घिमिरेले सञ्चालन गरेको कार्यक्रममा ५ सय बढी नेता कार्यकर्ताको उपस्थिति थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा भएको कार्यक्रमले कार्यकर्तामा ऊर्जा भर्ने घिमिरेले बताए । आगामी निर्वाचनको तयारी र चाडपर्वको शुभकामनालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

नेपाल विद्यार्थी सङ्घ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेले पार्टीलाई चलायमान बनाउन भातृसंस्थाहरु जीवन्त हुनुपर्ने उल्लेख गरे । लामो समय नेविसंघको अधिवेशन नहुँदा त्यसको असर पार्टीमा परेका उनको भनाई छ । नेविसंघको सङ्गठन मजबुत हुँदा पार्टीलाई निर्वाचन लगायत गतिविधिमा धेरै सहज हुने उनको धारणा छ ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि, वडाध्यक्ष, क्षेत्रीय प्रतिनिधि लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।