इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी संविधानसभाका सफल सदस्य हुन् । संविधान मस्यौदा समितिका सदस्य समेत रहेका भण्डारी कानुनी विज्ञतामा प्रखर नेता हुन् । संविधान सँगै कानुन निर्माणमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । 
मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ (१) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् भण्डारी । प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै गर्दा उनी अध्यक्ष रहेका जनता बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ । एमाले निकट अनेरास्ववियुले विगत ३ महिना देखी लगाएको तालाबन्दी अझै खुल्न सकेको छैन । भण्डारी अध्यक्ष भएसँगै क्याम्पसमा बारम्बार विवाद बढी रहेको छ । 
इतिहासमै पहिलो पटक विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश निषेध गरेका थिए । धार्मिक सद्भाव भड्काउने कार्यक्रमको अनुमति दिएको भन्दै विद्यार्थी सङ्गठनले उनको विरोध गरेका थिए । अहिले उनकै पार्टी निकट विद्यार्थी सङ्गठनले भण्डारीले नेतृत्वको गरेको समितिको विरोधमा आन्दोलन जारी राखेको छ । 
पार्टीमा कमजोर भूमिकामा रहेको बेला उनले आफ्नो उपस्थिति देखाउन क्याम्पसको अध्यक्ष भएर पनि जिम्मेवारीमा रहे । अब्बल अध्यक्षको भूमिका देखाउने अवसर पाएका भण्डारी अन्ततः असफल देखिएका छन् । पदपूर्ति समिति मार्फत नयाँ कर्मचारी भर्नाको विषयमा उठेको विवाद उनले समाधान गर्न सकेका छैनन् । जसको कारण पार्टी भित्र उनी आलोचित बन्न पुगेका छन् । 
अहिले उनी प्रदेशसभा सदस्यको उम्मेदवार भएका छन् । प्रतिनिधिसभा उम्मेदवारमा दाबी गरेका भण्डारीले टिकट पाउन सकेनन् । सुनसरी २ बाट स्थायी कमिटी सदस्य भीम आचार्यले टिकट पाए । २०७४ मा भीम आचार्यको कारण टिकट नपाएको भन्दै भण्डारी रुष्ट थिए । लामो समय आचार्यको विरुद्धमा लागेका उनी प्रदेश १  संसदीय दलको नेतामा आचार्यलाई पराजित गराउन लागिपरे । आचार्यले पैसा लिएर स्थानीय तहमा टिकट वितरण गरेको भण्डारीको आरोप थियो । 
अहिले उनै भण्डारी आचार्य एकै पार्टीबाट चुनावी मैदानमा छन् । आचार्यले प्रतिनिधिसभामा मत माग्दै गर्दा भण्डारी प्रदेशसभामा मत माग्दै उभिएका छन् । पाए जुनसुकै पद पनि लिने भन्दै भण्डारीको आलोचना सुरु भएको छ । संविधानसभा सदस्य भएर क्याम्पस अध्यक्ष खाने र प्रतिनिधिसभा दाबी गरेर प्रदेशसभा भए पनि उम्मेदवार बन्ने भण्डारीको शैलीको विरोधमा आफ्नै कार्यकर्ता लागेका छन् । 
उनकै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारीकलाल चौधरी चुनावी मैदानमा छन् । भर्खरै माओवादी केन्द्र प्रवेश गरेका उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । पूर्व एमाले र वर्तमान एमालेका बिचको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । लामो समय भण्डारी विरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन् । थारु मत र एमालेको असन्तुष्ट मत आकर्षण गर्ने चौधरीको योजना छ ।