चतरा : नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लागि पर्ने बताएका छन् । नेपाली काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ को सङ्घीय प्रतिनिधि सभाको उम्मेदवार बनेका कार्कीले सुनसरी क्षेत्र नं ४ को समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर लागि पर्ने बताए ।
आइतबार वराहक्षेत्र ६ स्थित चक्रपट्टि बजारमा चक्रपट्टि जेसीजले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना तथा जेसीज सप्ताहको समापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका कार्कीले सुनसरी क्षेत्र नं ४ विकासमा योजना बनाएर लागिपरेको बताउँदै २०७४ सालको निर्वाचनमा बोलेको ८० प्रतिशत काम पूरा गरेको बताए । सुनसरी ४ को शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिक निर्माणको विकास ५ वर्ष काम गरे अब गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्ने छु कार्कीले भने ।
देश विकासकालागि पर्यटन, ऊर्जा, उद्योग, कृषि सहित सुचना प्रविधिको समेत महत्त्वपूर्ण भूमिका हुने उनले बताए । यसकालागि सुनसरी क्षेत्र नं ४ मा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सुचना प्रविधिको काम भइराखेको तथा पेपरलेस प्रविधिको लागि काम भइरहेको कार्कीले जानकारी दिए।
चक्रपट्टि स्थित रेडक्रस भवनमा आयोजना भएको उक्त कार्यक्रम चक्रपट्टि जेसीजका अध्यक्ष दिवस विष्टको सभाध्यक्षमा सम्पन्न भएको थियो । चक्रपट्टि जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइम विरुद्ध अन्तर्क्रिया, नेतृत्व र व्यक्तित्व विकासकालागि जेसिज विषयक अन्तर्क्रिया कार्यक्रम, मैत्रीपूर्ण फुटबल कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक चक्रपट्टि जेसीजका कार्यकारिणी उपाध्यक्ष तेजबहादुर पुरी (सन्तोष) ले बताए ।