इटहरी : नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोज मेन्याङ्बोले चुनावी प्रचार तीव्र पारेका छन् । मिडियाको अन्तरवार्तामा भन्दा जनतासँगको अन्तरक्रियामा उनले ध्यान दिएका छन् । 

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमालेले जनता समाजवादी पार्टी सँग गठबन्धन गरेर अशोक राईलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले पनि माओवादी र एकीकृत समाजवादी सँगको गठबन्धनमा मुक्साहाङ मेन्याङबोलाई उम्मेदवार बनाएको छ । त्यसबाहेक अन्य स्वतन्त्र उम्मेदवारले पनि दाबी प्रस्तुत गरेका छन् । सोमबार धरानको भानुचौकमा मनोजको चुनावी सभाले उनको उम्मेदवारीलाई बलियो प्रमाणित गरेको छ । ठुला राष्ट्रिय पार्टीका नेताले सुनसरी १ का जनताको हुर्मत लिएको टिप्पणी गर्दै उनले परिवर्तनको पक्षमा लाग्न सार्वजनिक आह्वान गरे । 

विगतमा धरान र सिङ्गो सुनसरी १ को विकाशको लागि धेरै बिन्ती बिसाउँदा समेत ठुला नेताहरूले चासो नदिएको तर गठबन्धनको नाममा कार्यकर्ता र जनताको भावनालाई आघात पुर्‍याएको उनले बताए । सुनसरी १ मा काँग्रेस एमालेका कार्यकर्ताले आफ्नो नेता निर्वाचित गर्ने अधिकार समेत खोसिदिएको भन्दै  मनोजले ठुला राजनैतिक दलको चर्को आलोचना गरे । 

एमालेको साधारण सदस्य पनि नरहने गरी पार्टी छाडेको उल्लेख गर्दै मनोजले एमाले र काँग्रेस कार्यकर्ताको भावना बुझ्ने उम्मेदवार आफु मात्र भएको बताए । आफैलाई विकाश बहाक भएको बताउँदै उनले पार्टीका नेताहरूले दासको रूपमा नरहेको सन्देश दिन खोजेको उल्लेख गरे । 

एमाले जसपा गठबन्धनका उम्मेदवार अशोक राई प्रति कटाक्ष गर्दै गठबन्धनको नाममा दोहन गर्न खोजेको बताए । जनतालाई एमालेका नफर्कने विश्वास दिलाउँदै उनले थुकेको थुक नचाट्ने उद्घोष गरे । जनताको सेवक बन्न उम्मेदवार भएको बताएका मनोजले पाँच वर्ष सार्वजनिक जीवन बिताउने बताए । भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई बाकीपनि नराख्ने प्रतिबद्धता जनाएका छन् । 

धरानका बुद्धिजीवी, अभियन्ता, कलाकर्मी देखी उद्योगी व्यवसायीको साथ पाएका मनोज चुनाव जित्ने गरी तयारीमा छन् । राजनैतिक पार्टीले लादेको उम्मेदवार मात्र विकल्प नभएको भन्दै उनले परिवर्तनको पक्षमा लाग्न जोड दिइरहेका छन् ।

२०७६ सालमा परिवर्तनको पक्षमा मत माग्दै नेपाली काँग्रेसका तिलक राई मेयरमा निर्वाचित भए । त्यसपछि गत वैशाखमा सम्पन्न निर्वाचनमा परिवर्तनकै पक्षमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भए । धरानले बारम्बार परिवर्तनको पक्षमा मत दिएको स्मरण गर्दै मनोजले सोही रणनीति अपनाएका छन् । 

केही दिन अगाडी नेकपा एमाले र जसपा गठबन्धनको पक्षमा मत माग्न धरान पुगेका एमाले अध्यक्ष ओलीको भाषणले समेत मनोजलाई फाइदा पुर्‍याएको छ । मेयर साम्पाङ विरुद्ध उनले गरेको टिप्पणीबाट एमालेको मत खच्किएको अनुमान गरिएको छ । स्वतन्त्र उम्मेदवारको प्रचार बढिरहेको बेला ओलीले गलत व्यक्तिलाई मत दिएको बताएपछि मनोजलाई फाइदा पुग्ने बुझिएको छ । 

धरानमा एमालेको नेतृत्व गलत भएको कारण त्यसको विरुद्धमा लागिएको एमालेकै नेताहरू बताउँछन् । माथिदेखि तल सम्म नै गलत सन्देश दिनेसरि हालको नेतृत्व चलायमान भएकोले त्यसैलाई खबरदारी दिन मनोजलाई सहयोग गरेको एक कार्यकर्ताले बताए । एमालेकै उम्मेदवार हराउन हालका जिम्मेवार नेता लागेको उनले कटाक्ष गरे । 

मनोजको चुनावी अभियानमा लागेका सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक ताम्राकार धरानको विकाशको लागि विकल्प खोजेको बताए । विगतमा पनि मनोजले धरानको पहिचान झल्किने घण्टाघर बनाउने देखी धरानलाई नमुना सहर बनाएकाले समर्थन गरेको उनको भनाई छ । 

manoj-menyanbo-aamsabhaविकाश निर्माणमा जनसहभागिताको सुरुवात गरेको र लागुऔषध दुर्व्यसनीको विरुद्धमा अभियान चलाएको सफल नेता भएको ताम्राकारको टिप्पणी छ । 

भर्खरै एमालेबाट कारबाहीमा परेका किशोर कुमार कार्की मनोज जत्तिको विकल्प दिने उम्मेदवार नभएको बताउँछन् । निष्ठाको राजनीति गर्ने कार्यकर्ताको मत कुँडिएको भन्दै उनले अब मनोजको जित निर्विकल्प भएको प्रस्ट पारे । एमाले र काँग्रेसको आफ्नो उम्मेदवार नभएको कारण जित निश्चित भएको उनको तर्क छ । 

खरायो चुनाव चिन्ह लिएर चुनावमा होमिएका उनी धरानमा उपमेयर र मेयरको सफल कार्यकाल सम्पन्न गरेका नेता हुन् । धरान उपमहानगरपालिकाका २० वडा र वराहक्षेत्रका ५ र रामधुनीको दुई वटा वडामा फैलिएको सुनसरी १ मा उनको उम्मेदवारीलाई बलियो दाबेदारकीको रूपमा हेरिएको छ । एमाले र काँग्रेस भित्रको विद्रोही मत र स्वतन्त्र मत पाउने गरी उनले चुनावी रणनीति बनाएका छन् । 

उनको विरुद्धमा दुवै गठबन्धनले आक्रामक प्रचार गरेका छन् । संसद्मा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने भन्दै गठबन्धनका दलहरूले प्रचार अगाडी बढाएका छन् ।