धरान : उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन गर्ने भएको छ ।
पत्रकार महासङ्घ सुनसरीको मङ्गलवार बसेको कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकले पत्रकार राईको रिहाइका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएका छन् ।
राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी बाँधेर धर्ना दिने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ ।
समाचार लेखेकै कारण कुनै पनि सञ्चारकर्मीलाई पक्राउ गर्न नहुने बताउँदै कुनै समाचारका चित्त नबुझे त्यसको कानुनी उपचार गर्ने निकाय हुँदा हुँदै पनि प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको बताउँदै विना सर्त रिहा गर्नुपर्ने माग समेत गरिएको छ ।
उदयपुरका पत्रकार राईलाई समाचार लेखेको विषयमा प्रहरीले मङ्सिर १० गते गाईघाटबाट पक्राउ गरी काठमाडौँ लगेको छ । राईले निगरानी पोस्ट अनलाइन दैनिकमा समाचार लेखेको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको थियो ।






































































