धरान : सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की बिच छलफल भएको छ । 
वराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधवार भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले वराहक्षेत्रका मेयर रमेश कार्कीलाई चतरा स्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्र सहित सहयोगको लागि आग्रह गरेका थिए । वराहक्षेत्रका मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानी सहित अन्य विषयमा समेत छलफल भएको वराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए । धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईबटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानु पर्नेमा जोड दिएका थिए । पानी सहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक सर्किट लगाएका विषयमा वराहक्षेत्र नगरपालिकासँग सहकार्य गरेर काम गर्ने धरानका मेयर राईले बताए । 
त्यस्तै बाङ्गेबाट नडाहा हुँदै धरान जोड्ने निर्माणाधीन बाटो, बाङ्गेबाट कालाबञ्जर हुँदै धरान जोड्ने निर्माणाधीन बाटो र भण्डारी टारबाट सुर्यकुण्ड हुँदै धरान जोड्ने सडकलाई दुवै पालिकाले अग्रसरता लिएर काम गर्नु पर्ने वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीको जोड रहेको थियो ।  धार्मिक सर्किट निर्माणसँगै सप्तकोसीको पानी धरान लैजाने योजनाले वराहक्षेत्र बासी समेत लाभान्वित गराउनु पर्नेमा जोड दिएका थिए । 
बुधवार नै छलफल पछि पानी लैजाने भनिएको स्थानको समेत अवलोकन गरिएको थियो । छलफल तथा अवलोकनमा धरान उपमहानगरपालिकाबाट मेयर राई, उपमेयर आइन्द्र विक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली र वराहक्षेत्रबाट वराहक्षेत्र  नगरपालिका मेयर रमेश कार्की, वडा नं.१ का अध्यक्ष किसान थापामगर, वडा नं ६ का अध्यक्ष उद्धव प्रसाद पोखरेल, योजना शाखाका प्रमुख राजु भट्टराई लगाएको उपस्थित रहेको थियो ।
harka-ramesh-chalfal-2