संखुवासभा : नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका संस्थापक सदस्य गङ्गा विष्ट पुरस्कृत भएका छन् ।

उनलाई नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाको ११ औँ साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो।

साढे २ दशकदेखि पत्रकारितामा संलग्न विष्टलाई त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मान पत्रले पुरस्कृत गरिएको महासङ्घका अध्यक्ष इन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार शंखरत्न पत्रकारिता पुरस्कार यसै वर्ष स्थापना गरिएको हो । जिल्लामा बसेर सक्रिय पत्रकारिता गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्रिरत्नले एक लाख ११ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरिएको त्रिरत्न सञ्चार गृहकी अध्यक्ष जेनी शाक्यले बताइन् ।

महासङ्घको साधारण सभामा उक्त रकमको व्याजबाट प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने छ ।