धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलित समुदाय माथि चोट पुग्ने गरी फेसबुकमा लेखेको शब्द अप्रत्याशित रूपमा प्रयोग भएको भन्दै सार्वजनिक रूपमा माफी मागेका छन् । धरान उपमहानगरपालिकाको लेटर प्याडमा आज आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी मेयर राईले सार्वजनिक रूपमा माफी मागेका हुन् । 
गत मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा मेयर राईले कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । "बल होइन बुद्धि लगा चमारे बुद्धि ।" स्ट्याटस राखेका थिए । उक्त अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको भन्दै राष्ट्रिय दलित आयोगले कानुनी कारबाहीको लागि गृह मन्त्रालयमा सिफारिस गरेपछि मेयर राईले क्षमा याचना गरेका हुन ।
मेयर राईद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ‘मिति २०७९।८।२८ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्ट्याटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःखी बनाएको रहेछ । त्यसका लागि क्षमाप्रार्थी छु ।’ उक्त पोष्ट कसैलाई ठेस पुर्याउने नियतवश नगरेको जानकारी पनि विज्ञप्ति मार्फत गराइएको छ ।
यसअघि मेयर राईलाई राष्ट्रिय दलित आयोगले फेसबुक अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न आग्रह गरेको थियो । आयोगको आग्रहलाई उपेक्षा गर्दै मेयर राईले आयोगप्रति नै थप टिप्पणी गरेका थिए । त्यसपछि आयोगले दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
त्यसअघि धरान उपमहानगरपालिकाकै तिन जना कार्यपालिका सदस्य सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले मेयर राईको अभिव्यक्तिले ‘दलित समुदायको मौलिक हक र अधिकारबाट नै कुण्ठित पार्दै दुर्व्यवहार भएको’ भन्दै आज संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘धरानका नगर प्रमुख लाई ‘कानुन अनुसारको कारबाही’ गर्न माग गरेका थिए ।
मेयर राईद्वारा क्षमायचना गर्दै आज प्रकाशित विज्ञप्तिमा आफू सधैँ समानताको भावनाका साथ मिलेर देशलाई माथि उठाउनका लागिपरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘विकृति, विसङ्गति बेथिति भ्रष्टाचार, अन्याय अत्याचार विभेद शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्याउने नियतवश सो स्ट्याटस पोष्ट नगरेको जानकारी गराउँदछु ।’
harka sampang mafi