चतरा : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित तोरिवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा डम्बरप्रसाद सिग्देल निर्वाचित भएका छन् । बुधवार सम्पन्न समितिको अधिवेशनबाट तेस्रो कार्यकालका लागि सिग्देल निर्वाचित भएका हुन् । सिग्देलले कृष्णप्रसाद कट्टेललाई ३ सय २१ को मत अन्तरले पराजित गरेका छन् ।
निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए ।
त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फबाट चन्द्रबहादुर मगर (अनिल) विजयी भएका छन् । सदस्य महिला तर्फबाट गोमादेवी न्यौपाने, रेणुकुमारी तिमल्सिना र बिना राई विजयी भएका छन् ।
खुल्ला सदस्य पदमा राजु कार्की, दीपक कोइराला र विनोद गुरागाईँ विजयी भएका छन् भने लेखा संयोजक पदमा दीपक कार्की विजयी भएका छन् । अध्यक्षमा जस्तै भौगोलिक सदस्य पदमा र लेखा संयोजक पदमा पनि  २र२ जनाको उम्मेदवारी रहेको थियो भने महिला सदस्य पदमा ६ जना र खुल्ला सदस्य पदमा १० जनाको उम्मेदवारी रहेको थियो ।
सिग्देल समूह र कट्टेल समूह गरेर प्यानल बनाएर निर्वाचन भएको खानेपानी उपभोक्ता समिति कार्यसमितिमा अधिकांश सिग्देल प्यानलका सदस्य विजयी भएका छन् । अध्यक्ष सहित ९ जना कार्य समिति र एक जना लेखा संयोजक पदमा भएको निर्वाचनमा भौगोलिक सदस्य वडा नं. २ बाट मगर र खुल्ला सदस्यबाट निर्वाचित कोइराला र महिला सदस्य राई बाहेक अन्य सम्पूर्ण सिग्देल समूहबाट निर्वाचित भएका हुन् ।
वराहक्षेत्र नगरपालिका वडा नं १ र २ सेवा क्षेत्र रहेको खानेपानी उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमितिको बैठकले निर्वाचित सदस्यबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवको जिम्मेवारी दिने निर्वाचित अध्यक्ष सिग्देलले जानकारी दिए ।
toribari-Team