काठमाडौँ : चलचित्र ‘गोर्खा वारियर’ को टिजर बिहीबार काठमाडौँमा एक समारोहबिच रिलिज गरिएको छ । समारोहमा यो फिल्मको टिजर हेर्ने क्रममा सबैले हलिउडको युद्ध सम्बन्धी फिल्मको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिए । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।
यो चलचित्रलाई भर्सटाईल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सले पहिलो पटक वीर गोर्खालीको युद्ध कथालाई जादुई रूपमा गोर्खा वारियर मार्फत कुशलता पूर्वक सशक्त रूपमा उतारेको सञ्चारकर्मीहरूले बताए ।
‘युद्ध सम्बन्धी सिनेमाको यो टिजर हलिउडको कुनै वार मूभिको भन्दा कम छैन । यो टिजर हेर्दा साँच्चै अन्तर्राष्ट्रिय स्तरको फिल्म तपाईँले बनाउनु भएको छ ।’ फिल्मको टिजर हेरेपछि सञ्चारकर्मीहरूले निर्देशक मिलन चाम्सलाई भने ।
सशस्त्र प्रहरी बल नेपालका पूर्व आइजिपी शैलेन्द्र खनाल 'सरद'ले आफू पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृश्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए । साँच्चै अन्तर्राष्ट्रिय स्तरको यो फिल्मको टिजर बनेको पनि उनले बताए ।
निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो विश्वयुद्ध देखि अहिलेसम्म धेरै वटा युद्ध लडेको स्मरण गराए । उनीहरूसँग कैयौँ युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा वास्तविक कथालाई यस पटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताए । पहिलो पटक आफूले यो फिल्मलाई नेपाली, हिन्दी र अङ्ग्रेजीसहित तीन भाषामा अन्तर्राष्ट्रिय रूपमा तयार गरेको पनि उनले जानकारी गराए ।
निर्देशक चाम्सका अनुसार सन १९४९ को 'मलाया इमरजेन्सी जङ्गल वार'मा गोर्खाली सैनिकको साहसिक युद्ध कथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे ।
यस अघि चलचित्रको फस्ट लुक्सले चर्चा कमाएको थियो । अहिले टिजरलाई दर्शकले त्यत्तिकै मन पराएकोमा निर्देशक चाम्सले खुसी व्यक्त गरेका छन् ।
यस अघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यस पटक ब्रिटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जङ्गल वार’ युद्धमा गरेको सङ्घर्ष र उनीहरूको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।
यो चलचित्रका सह निर्माता सुरेश राईले वीर गोर्खाली सैनिकका कथा मार्फत नेपाललाई सिनेमाको माध्यमबाट संसारभर चिताउन आफू यो फिल्मको निर्माणमा जोडिएको बताए ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिको छ ।
यो चलचित्रको नेपाल र मलेसियामा छायाङ्कन भएको हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सह निर्मातामा रूपमा सुरेश राई छन् ।