इटहरी : प्रदेश १ नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की सम्भावित मुख्यमन्त्रीको रूपमा देखिएका छन् । प्रदेशसभाको ठुलो दल भएको हिसाबमा पनि कार्की पहिलो प्राथमिकतामा परेका हुन् । यसअघिको नेपाली काँग्रेस सहित माओवादी केन्द्रको गठबन्धनमा काँग्रेसले दाबी गरेको मुख्यमन्त्री पद एमालेका कार्कीको भागमा पर्ने प्रष्ट देखिएको हो ।

९३ सदस्यीय प्रदेशसभामा समानुपातिक सहित एमालेका ४० र माओवादी केन्द्रका १३ सांसद छन् । संसद्मा बहुमत पुर्‍याउन ४७ सांसदको आवश्यकता पर्छ । एमाले र माओवादी केन्द्रको गठबन्धनले सरकार बन्ने बाटो सहज बनेको छ । केन्द्रीय समीकरण अनुसार राप्रपाले पनि प्रदेश सरकारमा सहयोग गर्ने देखिन्छ । यसरी हेर्दा सत्तारुढ दलतर्फ ६९ सांसद देखिन्छन् ।

यसअघि माओवादी र काँग्रेस गठबन्धनमा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टीको १ सिट अहिले कमजोर बनेको छ । काँग्रेस २९ सिट सहित प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ भने हालका मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेकपा एकीकृत समाजवादी ४ सिटमा समेटिएका छन । 

बदलिँदो परिस्थिति अनुसार प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्नेमा विश्वस्त छन् कार्की । नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएकै बखत कार्कीलाई मुख्यमन्त्रीको रूपमा आङ्कलन गरिएको थियो । यसअघि आन्तरिक मामिला मन्त्रालय चलाएका कार्की अनुभवी नेताको रूपमा चिनिन्छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीकै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित उनी प्रदेश १ का प्रभावशाली नेता हुन् । ओलीका विश्वासपात्र मानिएका उनलाई मुख्यमन्त्री बनाउने गरी एमालेले गठबन्धनमा तयारी थालेको छ । उनी सँगै मुख्यमन्त्री दाबी गर्ने अर्का पूर्व मन्त्री जीवन घिमिरेको पराजयले कार्कीको बाटो सहज भएको हो । 

माथिको समीकरणमा फेरबदल भएन भने प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने कार्कीको भनाई छ । पछिल्लो समय सङ्घीयता प्रति नियोजित रूपमा आक्रमण भइरहेको बताउँदै उनले अबको सरकारले परिवर्तनको मर्म र आवश्यकतालाई सम्बोधन हुनेगरि काम गर्ने बाचा गरे । प्रदेश १ को नामकरणको विषय पनि टुङ्गो लगाउँदै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा गम्भीर भएर लाग्ने उनको भनाइ छ ।

दुई कार्यकाल आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका माओवादी नेता आङ्बो पुनः मन्त्री नदोहोर्‍याउने लाइनमा छन् । विगतमा अनुभवको आधारमा पनि मुख्यमन्त्री पाउनुपर्ने उनको दाबी छ । एमालेको दाबी स्वाभाविक भए भागबण्डा लाग्दा प्रदेश १ मा माओवादीको दाबी बलियो भएको प्रष्ट पारे ।