इटहरी : लामो समयदेखि अस्तव्यस्त इटहरीको मुख्य सडकपेटीलाई इटहरी सरकारले थप व्यवस्थित बनाउने भएको छ । पैदल यात्रुका हिँड्नका लागि बनाइएका फुटपाथ व्यापारीहरूले कब्जा गर्ने क्रम बढे सँगै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सडक पेटी खाली गर्ने निर्देशन दिएका हुन ।
 सडकपेटीमा व्यापारीहरूले हिँड्नै नमिल्ने गरी फुटपाथ पसल तथा पार्किङ राखेका कारण पैदल हिँड्न गाह्रो भएर दुर्घटनाको जोखिम मोल्नु परेको भन्दै सडकपेटी खालि गर्ने मेयर पौडेलले निर्देशन दिएका हुन । बजार क्षेत्रको सडकपेटीको अनुगमन गर्दै मेयर पौडेलले यात्रु हिँड्ने सडकपेटीलाई खालि गर्ने निर्देशन दिएका हुन । 
 व्यापारीसँगै सटरवालाले समेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताएका छन् । बजारको ट्राफिक व्यवस्थापन सुधारोन्मुख भएको मेयर पौडेलको प्रतिक्रिया थियो । यात्रुहरूलाई हिँड्न गाह्रो  भएको विषयमा सर्वत्र गुनासो बढेपछि उपमहानगरले नगरप्रहरी ,ट्राफिक प्रहरी,सुरक्षाकर्मी ,उद्योगी व्यवसायी सहितको टोलीले सडक ‘क्लियर’ गरेको हो । 
पैदल यात्री हिँड्ने पेटी कब्जा गर्ने नदिने १ नम्बर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले बताए । मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाई थियो । उनले पहिले जस्तो नभई अव बजार क्षेत्रको सडकपेटीमा पसल राख्न बन्देज गरिएको समेत बताए । इटहरी चोकमा ट्राफिक व्यवस्थापन थप सुधार गरिँदै लैजाने भएको छ ।
प्रदेश १ को केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा विगत केही वर्षदेखि सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बने पनि विभिन्न नियमहरू लागू गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास गरीएदै आएको छ ।
sadak-peti-clear-itahari