सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट-२०७९ शुक्रवार देखी सुरु हुने भएको छ । 
बुधवार हिसान सुनसरीले इटहरीमा यसबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाक ताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए । 
यसबर्ष हिसान रन समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ । 
स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी रङ्गशालामा, क्रिकेट इटहरी-९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल मावि इटहरीमा हुने मूल संयोजक हेमन्त भण्डारीले बताए । समापन कार्यक्रम भने धरानमा आयोजना गरिने भण्डारीले बताए । 
यसअघि ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस, बुद्धिचाल, वक्तृत्वकला, हाजिरी जवाफ र कविता प्रतियोगिता सम्पन्न भैसकेको भण्डारीले जानकारी दिए । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरिका २ हजार २ सय विद्यार्थीको सहभागिता जनाउने बताइएको छ ।