• रश्मि प्रधान
धरान : मुलुकको कृषि क्षेत्रलाई यन्त्रिकरण तर्फ अघि बढाउन नेपालमा बनेका कृषि प्रविधिहरूको वृहत् प्रदर्शनी आज बिहीबार देखी धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सुरु भएको छ । माघ ७ गते सम्म चल्ने तेस्रो डेल्टा प्राविधिक प्रदर्शनी महोत्सवको आज एक समारोह बिच प्रदेश १ का नवनियुक्त मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मन्त्री राजभण्डारीले कृषि प्रधान देशमा अब प्रविधिको प्रयोग गरेर नयाँ क्रान्ति गर्नुपर्ने बताए । उनले अब कृषकहरूलाई प्रविधिमैत्री बनाए मात्र कृषि उत्पादनमा क्रान्ति गर्न सकिने कुरमा जोड दिँदै कृषकहरूलाई प्राबिधिमैत्री भएर उत्पादनलाई द्रुतगतिमा अघि बढाउन आव्हान गरे । 
धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले देशमा गफ गर्ने भन्दा काम गर्नेलाई सम्मान गर्नुपर्ने बताए । उनले भने "सपना देख्नेहरू र लक्ष्य राख्नेहरूलाई राज्यले सम्मान गर्नुपर्छ ।" पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा उत्पादित दक्ष जनशक्तिलाई राज्यले रोजगार दिए देशलाई जुरुक्कै उठाउने उनको कथन थियो ।
तिन दिने प्रदर्शनी क्याम्पसका विद्यार्थीहरूको नारा ‘दिगो आधुनिक कृषि’ रहेको छ । क्याम्पसका ७ वटा शंकायका विद्यार्थीहरूको संस्था 'डेल्टा'ले प्रदर्शनी आयोजना गरेको हो । डेल्टाको यो आयोजना तेस्रो हो । प्रत्येक वर्ष संस्थाले क्याम्पसको खेल मैदानमा प्रदर्शनी आयोजन गर्दै आएको छ । 
प्रदर्शनीमा ७० वटा स्टलहरू छन् । विद्यार्थीले बनाएका कृषि प्रविधिका विभिन्न सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, मदन भण्डारी कलेज उर्लाबारी, पुसेट कलेज विराटनगर, बेस्टर क्याम्पस समेत नेपालका १० वटा  इन्जिनियरिङ कलेज सहभागी छन् ।
इन्जिनियरिङ तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू एवं कक्षा १२ विज्ञानका विद्यार्थीहरूले तयार गरेका नयाँ प्रविधिहरू प्रदर्शित छन् । बृहत् प्राविधिक महोत्सवको रूपमा आयोजना गरिएको प्रदर्शनीले सहरी कृषि, कृषिमा यान्त्रीकरण, आइटी र यसको स्वचालन, खाद्य उत्पादन र प्रशोधन प्रविधिको जानकारी दिँदै कृषकलाई कृषि कार्यमा ऊर्जा प्रदान गर्ने विश्वास गरिएको डेल्टाका अध्यक्ष सम्राट् मेहताले बताए ।
आयोजक सदस्य परिबेश फुयाँलका अनुसार प्रदर्शनीले परम्परागत कृषि अभ्यासलाई आधुनिकीकरण गर्न प्रोत्साहित गर्नेछ । प्रदर्शनीले नयाँ प्रविधिको प्रवर्द्धन गर्ने र प्रविधिको आविष्कार गर्दै प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ । प्रत्येक इन्जिनियरिङ क्षेत्रलाई कृषिसँग जोडेर भविष्यको लागि कृषिलाई दिगो बनाउने उद्देश्यले महोत्सव बर्सेनि आयोजना गरिएको हो । 
प्रदर्शनी उद्घाटन कार्यक्रममा सुनसरी-१ (क) का सांसद रमेश बस्नेत, (ख)का सांसद विजय कुमार राई र समानुपातिक सांसद यशोदा कायस्थको विशेष आतिथ्य थियो । समारोहको सभापतित्व डेल्टका अध्यक्ष सम्राट् मेहताले गरेका थिए ।
engineering-tech-fest
engineering-tech-fest-2