सुनसरी : प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । 

इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । जितका लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सुदूरपश्चिमकी कविता जोशी २० बलमा एक चौका र एक छक्का सहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा दुई चौका सहित २७ रनमा अविजित रहिन ।

डली भट्ट १६ बलमा एक चौका र दुई छक्का सहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, सङ्गीता राई र हिरनमय रायले एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

प्रतियोगितामा कविता कुँवरले विधागत पुरस्कारमा वर्चस्व कायम राखिन । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् ।

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन । सुदूरपश्चिमकै मनीषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन । विजेता सुदूरपश्चिमले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ ।