धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रोफेसर पद प्रयोग गरेको कुराले उनको उपकुलपति पद नै धरापमा परेको छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहदा पाएका भनी प्रोफेसरको पद प्रयोग गरेको देखिएकोले सोमवार विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 
विशेष अदालतले डा.गिरीलाई निलम्बनमा राखेर पनि सुनवाइ गर्न सक्ने भएकोले उनको उपकुलपति पद धरापमा परेको कानुन व्यवसायीहरूले बताएका छन् । अख्तियारको माग दाबी अनुसार विशेष अदालतलाई लागेमा उनलाई उपकुलपति पदबाट निलम्बनमा राखी मुद्दाको सुनवाइ गर्न सक्ने कानुन व्यवसायीहरूले बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा जारी विज्ञप्ति अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा प्रोफेसर पद प्रयोग गरेको देखिएको छ । 
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावीका साथ विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको हो । 
अख्तियारको विज्ञप्तिमा भनिएको छ ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको माग दाबी लिइएको छ ।
साथै अख्तियार डा.गिरीलाई प्रोफेसर भनी अनधिकृत रूपमा नियुक्त गरेको पत्र दिने डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि मतियारको भूमिका रहेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । 
विज्ञप्तिमा भनिएको छ ‘साथै प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको अनुमोदनको लागि काठमाडौँ विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गर्ने ।’
VC-letter-ccia