इटहरी : सुनसरी जिल्ला अदालतको फैसलाबाट आफ्नो श्रीमानलाई अन्याय भएको फिराद पुनरावेदन गरेकी श्रीमती दिलकुमारी गहतराज अहिले उच्च अदालत विराटनगर धाई रहेकी छिन् । इटहरी वडा-१९ बरमपुर फूलबारी टोलमा १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका उनका श्रीमान्  लालबहादुर विक अहिले जेलमा छन् । उनको जायजेथा सम्पत्ति विक्री गर्दा ५-७ लाख पुग्ला । तर, उनलाई अदालतले ३ करोड १४ लाख बिगो जरिवाना सहितको फैसला गरेपछि उनी जेल जानु परेको हो । उनको घर पुग्ने ३ फुट फराकिलो बाटो छ ।
लालबहादुर र श्रीमती दिलकुमारी गहतराजको विवाह १० वर्ष अघि भए पनि सन्तान भएको छैन ।  भाइसँग बस्दै आएका बुबा हर्कबहादुर विक ७० वर्षका भए र आमा सीता विश्वकर्मा पनि ६८ वर्षकी भइन् । दिनरात ज्याला मजदुरी गरेर बुबा आमालाई पनि हेरचाह गरिरहने लालबहादुर जेल परेकाले श्रीमती, बुबा र आमाको बिलखबन्दमा परेका छन् ।  
एकै पटक १४ लाखसम्म पनि नदेखेका उनीहरूको परिवारलाई ३ करोड १४ लाखको बिगो जरिवाना सुनसरी जिल्ला अदालतबाट भएको हो । श्रीमती दिलकुमारी भन्छिन् ‘लालबहादुरको ३ करोड १४ लाख बराबरको सम्पत्ति कहाँ छ ?’ हामी कहाँसम्म न्याय माग्न जानु अब ? गल्ती नगरेको मान्छे जेलमा बस्नु पर्ने कस्तो न्याय हो ? उनको प्रश्न छ । उक्त मुद्दाको फैसला सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला यङयाको एकल इजलासबाट भएको हो ।
घटना विवरण
२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्स विरुद्ध अर्को मुद्दा दर्ता भयो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा  पर्‍यो । 
मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगढको रूपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दाको फैसला २०७८ पुस १९ गते भएको हो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवाना र तीन वर्ष जेल सजाय तोकिएको छ ।
उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् । अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्समा काम गर्ने कालिगढ मात्रै थिए । लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका छन् । 
तर फैसलामा लालबहादुरलाई दोषी ठहर गरिएको छ । अदालतको फैसलामा लालबहादुर र प्रमुख प्रतिवादी तथा जाहेरीवालाले दिएको बकपत्रमा भने उनी निर्दोष देखिएको छ । फैसलामा उल्लेख गरिएको लालबहादुरको बयानमा भनिएको छ ‘निजहरू (प्रो.दीपक गजमेरका छोराहरू दीपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर) नहुँदा निज (प्रो.दीपक गजमेर) को बुबा कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.ली. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु.५,००,०००।– (पाँच लाख) र अम्बिका अञ्जना राईको जम्मा गरेको नगद रु.१०,७२,०००।– (दश लाख बहत्तर हजार) मा तथा अन्य पासबुकमा समेत कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले दस्तखतसम्म गरिदिएको हो । पैसा कृष्णबहादुर गजमेरले राखेका हुन् । अन्य रकम सम्बन्धमा मलाई केही थाहा छैन ।’ 
यसैगरी फैसलामा उल्लेख गरिएको प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा गरेको बयानमा भनिएको छ ‘सहप्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा हाम्रै सुन पसलका कालीगढ हुन् । सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.ली. इटहरी २४ तरहराका प्रो.दीपक गजमेरका छोराहरू दीपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेत पसलमा नहुँदा मलाई दस्तखत गर्न नआएकोले मैले निज कालीगढ गोपाल भन्ने लाल बहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.ली.लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु.५,००,०००।– (पाँच लाख) र अम्बिका अञ्जना राईको जम्मा गरेको नगद रु.१०,७२,०००।– (दश लाख बहत्तर हजार) लगायतका पासबुकमा दस्तखत गर्न नलाई सो रकम म आफूले बुझिलिएको हो ।’
साथै ‘दैनिक कारोबारको रेखदेख सम्बन्धी प्रमुख जिम्मेवारी छोरा दीपक विश्वकर्मा गजमेर आफैँले गर्थे, निज नभएको बेला म लगायत छोरा कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेतले कारोबार गर्ने गरेका थियौँ। छोराछोरी कोही पसलमा नहुँदा कहिलेकाहीँ पसलका कालिगढ गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई मैले पासबुकमा दस्तखत गर्न लगाई नगद म आफूले बुझिलिई राख्ने गर्दै आएको थिएँ ।’ बयानमा भनिएको फैसलाको कागजमै उल्लेख छ ।  
यसै गरी फैसलामा उल्लेख गरिएको प्रतिवादी दीपक विश्वकर्मा गजमेरले लालबहादुर विकको विषयमा अदालतमा गरेको बयानमा भनिएको छ ‘मेरा सम्पूर्ण संस्थाहरूबाट भए गरेका कारोबारमा प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा, सीता विश्वकर्मा, कमल विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमति समेत छैन । निजहरूलाई मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिनुदिनु गर्नुहुन्थ्यो ।’ 
साथै लालबहादुरको विषयमा जाहेरवाला ७२ जना को बकपत्रमा भनिएको बयान पनि फैसलामा उल्लेख छ । बकपत्रमा भनिएको छ ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् । निजबाट म ठगिएको होइन ।’ जाहेरवाला बलराम पुरी, पवित्रा गिरी, गङ्गादेवी गुरुङ, अर्जुनकुमार वन, चुँडाबहादुर क्षेत्री, भीमकुमारी राई, कृष्णबहादुर क्षेत्री, रत्नकुमारी राई, ख्याम अधिकारी, लीलादेवी दाहाल, लिलाबहादुर अधिकारी, बलराम गुरुङ, पुष्पा राई, निर्मला राई, चित्रबहादुर अधिकारी, चन्द्रकला श्रेष्ठ, कोपिला पुरी, पदमबहादुर गुरुङ, सन्जोग राई, सुकमित गुरुङ, सुमित्रा गिरी, चन्द्रबहादुर लामिछाने, दिव्यश्वरी पुरी, तारा बस्नेत, उमादेवी गुरुङ लगायत छन् । 
लालबहादुर विकबारे अदालतको ठहर
सबै बयानका बाबजुद लालाबहादुरलाई दोषी ठहर गर्दै फैसला खण्डमा भनिएको छ– प्रस्तुत मुद्दाका प्रतिवादीहरू दीपक विश्वकर्मा गजमेर, कृष्णबहादुर विश्वकर्मा गजमेर, कलम विश्वकर्मा र सीता विश्वकर्मा एकै घरका सदस्य र गोपाल भन्ने लालबहादुर विश्वकर्मा दीपक विश्वकर्मा समेतले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्सका कामदार रहेको भन्ने प्रतिवादीहरूको बयान बेहोरा समेतबाट देखिन्छ । 
जाहेरीवालाहरूको भनाई, बरामदी मुचुल्का र प्रतिवादीहरूको बयान ब्यहोराबाट प्रतिवादीहरूले सिंहदेवी ज्वेलर्स, सिंहदेवी ज्वेलर्स इन्डष्ट्रिज प्रा.ली. र सिंहदेवी मनि ट्रान्सफर सञ्चालन गरी सिंहदेवी ज्वेलर्स समेत बैङ्क जस्तै हो भन्ने विश्वास दिलाउन सोको नाममा पासबुक समेत छपाई जाहेरवाला समेतको खाता खोली (अभिलेख रजिष्टरमा जनाई) निजहरूबाट विभिन्न मितिमा ठुलो मात्रामा रकम बुझी लिई/निक्षेप जस्तै सङ्कलन/स्वीकार गरी पासबुकमा जनाई दस्तखत समेत गरी उक्त पासबुक सम्बन्धित बचतकर्तालाई दिने गरेको भन्नेमा विवाद गर्नुपर्ने अवस्था देखिएन ।
फैसलाको बुँदा नम्बर २२ को अन्तिममा भनिएको छ, ‘जाहेरवाला र प्रतिवादीहरूको समेतको भनाइका आधारमा हेर्दा ठगी गर्ने कार्यमा प्रतिवादी दीपक विश्वकर्मा गजमेरको मुख्य भूमिका/संलग्नता र अन्य प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा गजमे्र, सीता विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माले ठगी गर्ने कार्यमा प्रतिवादी दीपक विश्वकर्मा गजमेरलाई मद्दत पुर्‍याउने मद्दतकार/मतियारको भूमिका निर्वाह गरेको भन्ने देखिई कसुरको मात्र घटी बढी भए पनि जाहेरवाला समेतको रकम ठगी गर्ने कार्यमा प्रतिवादीहरूको सङ्गठित र सामूहिक संलग्नता रहेको भन्ने पुष्टि हुन आयो ।’
बिगो दामासाहीमा लालबहादुर पनि 
फैसलाको अन्तिम सारांशमा बिगो भराउन लालबहादुर लाई पनि दामासाही लगाइएको छ । भनिएको छ ‘साबिक मुलुकी ऐन ठगीको महलको ४ नं. बमोजिम प्रतिवादीहरूबाट अभियोग पत्रसाथ संलग्न बिगो तालिकामा उल्लेख भए बमोजिम जाहेरिवाली सुकमित गुरुङसमेत २७५ जनाको बिगो अठार करोड चौरासी लाख छैसठी हजार आठ सय उनानब्बे रुपैयाँ निज जाहेरवाला समेतलाई दामासाहीले भराई दिने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिल बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम यो फैसला गरिदिएको छ ।’
lalbadur-case‘लालबहादुर निर्दोष हुन्’
छिमेकी मिनाकुमारी खत्रीले १० वर्ष अगाडि उक्त ज्वेलर्समा २ लाख रुपैयाँ पैसा राख्न दिएकी थिइन् । तर, अहिले अदालतले गरेको फैसलामा लालबहादुर जेल परेको उनलाई पनि मन परेको छैन । ‘लालबहादुरलाई त कर्मचारी राखेको हो नि । स्टाफलाई पैसा राख्न लगाएको हो । बाउले पैसा राख्थ्यो, पासबुकमा चाहिँ आफूले सही गर्थ्यो,’ उनी भन्छिन् । खोटाङ दिक्तेलबाट तराइ झरेकी उनले धान, मकै, कोदो, बाख्रा पाठा बेचेर जम्मा गरेको पैसा जम्मा गरेको बताउँछिन् । गाउँका प्रत्येक जसो घरका पैसा राख्न दिने गरेको उनी बताउँछिन् । ८० वर्षीय विष्णुमाया ढुङ्गाना पनि लालबहादुरकै छिमेकी हुन् । उनले पनि लालबहादुरले कुनै कसुर गरेजस्तो आफूलाई नलागेको बताउँछिन् ।
पेशी सरेको सर्यै
जिल्ला अदालतको फैसलाको विरुद्धमा लालबहादुरले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका छन् । आउँदो माघ २४ गतेका लागि पेशी तोकिएको छ । गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पेशी गत पुस ३ गते राखिएको थियो । विविध कारणवश पुस २६ गतेलाई सर्‍यो । २६ गतेबाट माघ ३ गतेलाई सर्‍यो । माघ ३ गतेबाट माघ २४ गतेलाई पेशी सरेको छ । अदालतले छिटो फैसला गरे हुन्थ्यो भन्ने परिवारको आशा छ ।
श्रीमती गहतराज भन्छिन् ‘पेशी पनि सरेको सर्यै गर्छ । अब माघ २४ गते मात्रै हुन्छ भनेको छ । मान्छेको बेहालत भइसक्यो ।’ मुद्दा लगाउने सुक्मित गुरुङले पनि लालबहादुर दोषी छैन भनेर बकपत्र गरेका छन् । उनले भनिन् ‘न्यायाधिशले के खालको फैसला गरेको बुझ्नै सकिएको छैन । न्यायाधीश भएँ भन्दैमा जे पनि फैसला सुनाउन मिल्छ र ? मानवताको नाताले हेर्दा पनि यो त अन्यायपूर्ण नै हो नि,’ उनको भनाइ छ ।
लालबहादुरले मासिक २२ हजार पाउँथे
सुन पसलमा लालबहादुरले काम गरेको साढे २ वर्ष भएको थियो । उनको मासिक तलब तोकिएको थिएन । सिक्री बनाए बापत ज्याला दिन्थे । मासिक २२, २३ हजार हुने गरेको उनकी श्रीमती गहतराजले बताइन् । उनको घर भएको स्थानको १० धुर जग्गा भाइ अरुणसहितको हो । बुबा हर्कबहादुरले दाजुभाइले ५-५ धुर जग्गा बाँडेर खानु भनेर अंश दिएको जग्गामा लालबहादुरले दुबई गएर ल्याएको पैसाले सानो घर बनाएको श्रीमती गहतराज बताउँछिन् ।
उनले भनिन् ‘ऋण काढेर, बैङ्कबाट पनि ऋण लिएर घर बनाएका हौँ । अझै पनि ऋण तिर्न सकेका छैनौँ । हार्डवेयरमा पनि २ हजारका दरले मासिक तिरिरहेका थियौँ । साहुले महिनाको १२, १३ हजार किस्ता तिर्दिनु भएको थियो ।’ उनका अनुसार घर भएको जग्गा रोक्का छ । त्यो जग्गा बेच्दा पनि तिर्न नसक्ने ऋण छ हामीलाई । ३ फुटको बाटो भएको जग्गा छ । प्रतिधुर एक लाख रुपैयाँ मूल्य पनि आउँदैन । अहिले मेरो हातमा पनि कुनै काम छैन । मुद्दा मामिलाकै कारण दौडादौड गरिरहनु परेको छ । अहिले त बिहान के खाने बेलुका के खाने भन्ने नै समस्या छ ।’