धरान : धरानमा जारी २३ औँ गोधुली फुटबल रनिङ कपमा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।

आज धरान रङ्गशालामा भएको खेलमा वडा नं. ५ लाई २-० गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो । १५ नं. वडाले भोलि हुने वडा नं. १६ र १७ बिचको सेमिफाइनल विजेतासँग उपाधिका लागी भिड्नेछ ।

१५ नं. वडा गत वर्षको सुवास राई स्मृति सुपर ८ लिगको विजेता समेत हो । धरान-१५ लाई फाइनलमा पुर्‍याउन सुगम जिमी र अनीश राईले गोल गरे । खेलको ३६ औँ मिनेटमा गोल गर्दै जिमीले १५ नं. वडालाई अग्रता दिलाएका थिए । खेलको ७६ औँ मिनेटमा १५ नं. वडाका अनीश राईले अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा ५ नं. वडाले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको ४३ औँ मिनेटमा ५ नं. वडाका साजन लिम्बूले प्रहार गरेको गोल गोल पोस्टमा लागेर फर्किएको थियो । त्यस्तै खेलको ५८ औँ मिनेटमा आङ्चोङहाङ लिम्बूले वान भर्सेस वानमा गोल गर्न चुके । खेलको म्यान अफ द म्याच १५ नं. वडाका चन्दन मगर घोषित भए । उनलाई नगद २ हजार र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । 

भोलि वडा नं. १६ र १७ बिच खेल हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

पुस ३० गतेदेखि माघ १४ गतेसम्म धरान रङ्गशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो।