धरान : पछिल्लो समय ह्वात्तै बढेको अनलाइन पत्रकारिता र युट्युब च्यानलमा आचारसंहिता अत्यधिक उल्लङ्घन हुने गरेको नेपाल प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलमा आउने उजुरी तथा गरिदैं आएको अनुगमनका आधारमा आचार संहिताको उल्लङ्घन अत्यधिक हुने गरेको पाइएको हो । 
काउन्सिलको प्रतिवेदनमा २०७८ साउन देखी २०७९ असार सम्म २०३ वटा उजुरी परेको तथ्याङ्क छ । १०२ वटा अनलाइनलाई नेपाल भित्र हेर्न नसकिने गरी कारबाही गरिएको छ । आचार संहिता उल्लङ्घनको उजुरी दोहोरिएका नामचलको राष्ट्रिय दैनिकहरूमा कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानी पनि रहेको प्रतिवेदनमा उल्लेख छ । 
धरानमा मङ्गलवार प्रेस काउन्सिलद्वारा आयोजित आचार संहिता तथा पत्रपत्रिका वर्गीकरण विषयक अन्तरक्रियामा सुनसरीका सञ्चारकर्मीहरूलाई उक्त जानकारी दिइएको छ । आचार संहिता उल्लङ्घन गरी व्यक्तिको चरित्रहत्या, मानहानि लगायतका धेरै उजुरी आउने गरेको बताउँदै काउन्सिलका सदस्य ठाकुर बेल्बासेले भने ‘त्यस्ता केशहरूमा यदि अनलाइन पत्रिका प्रेस काउन्सिलमा सूचीकरण भएको छैन भने साइबर ऐन पनि लाग्न सक्छ ।’
पछिल्लो समय युट्युब च्यानलहरूमा आचार संहिता उल्लङ्घन हुने गरेको उनले बताए । उनका अनुसार कतिपय स्थानिय पत्रपत्रिकाहरूले पनि आचार संहिता उल्लङ्घन गरेका छन् । कतिपय प्रकाशित समाचार ‘बार्गेनिङ’का लागि छापिने र सहमति भएपछि अघिल्लो समाचारको ठिक विपरीत समाचार प्रकाशित गरेको उदाहरण स्वरूप त्यस्ता समाचारको ‘कटिङ’ पनि सञ्चारकर्मीहरूलाई प्रदर्शन गरे ।
बेल्बासेका अनुसार सरकारबाट पत्रपत्रिकालाई प्रदान गरिने अनुदानको लागि प्रेस काउन्सिलले गर्ने वर्गीकरणमा राजनीति हुने गरेको आरोप केही अंशमा सत्य भएको बताए । उनले भने ‘वर्गीकरणको कुरामा मन्त्री, सांसदहरूको फोन समेत आउने गरेको छ ।’ जुनसुकै क्षेत्रमा राजनीतिको प्रभाव र पहुँचले काम गर्दछ भन्ने मानसिकताका कारण यस्तो प्रवृत्ति हट्न नसकेको उनको भनाइ थियो ।
अन्तरक्रियामा काउन्सिलका अधिकृत रहमतुल्ला मियाले वितरण सम्परिक्षण समितिले पत्रपत्रिकाको मुल्याङकन गर्ने प्रक्रिया र पद्धतिका बारेमा जानकारी दिएका थिए । मियाका अनुसार सुनसरी जिल्लाबाट हाल ५ वटा दैनिक र १९ वटा साप्ताहिक पत्रिकाले वर्गीकरणका लागि फारम भरेका छन् । उनले मुल्याङकन प्रक्रिया निष्पक्ष भएको दाबी गरे पनि सहभागी स्थानिय पत्रपत्रिका सञ्चालकहरूले काउन्सिलले हचुवाको भरमा वर्गीकरण गर्ने गरेको आरोप लगाए । 
पत्रकारहरूले पालना गर्नुपर्ने आचार संहिताको पाठ पढाउने काउन्सिलका सदस्यहरूबाटै आचार संहिता उल्लङ्घन हुँदै आएको सहभागी पत्रकार रत्न आचार्यले लगाए । काउन्सिलले हचुवाको आधारमा उजुरी लिइने र हचुवा तरिकाले नै सुनवाइ गरेको आरोप सहभागी पत्रकार भरतराज शर्मा गोपालले लगाए । आफू विरुद्ध उजुरी पर्दा काउन्सिलले पत्राचार त टाढैको कुरा, फोनमा समेत जानकारी नदिई एकतर्फी सुनवाइ गरेर प्रतिवेदनमा समेत उल्लेख गरी आफ्नो मानहानि गरेको बताए ।
पत्रकार महासङ्घ सुनसरी शाखाको व्यवस्थापनमा भएको अन्तरकृयाको सभापतित्व शाखा सभापति जनकऋषि राईले गरेका थिए । स्वागत भाषण उपाध्यक्ष गणेश निरौला र सञ्चालन सहसचिव तीर्थ कार्कीले गरेका थिए