धरान : घर परिवारमा गरिँदै आएको धार्मिक संस्कार अनुष्ठानलाई मितव्ययी बनाउन सामूहिक रूपमा गर्दै आएको विजयपुर आध्यात्मिक मञ्चले यसपालि पनि सामूहिक व्रतबन्ध गर्दैछ । यसपालि माघ २७ गते शुक्रवार पिण्डेश्वरमा सामूहिक व्रतबन्ध गरिने भएको हो ।
धार्मिक संस्कार, परम्परा निर्वाह गर्दा ‘फजुल खर्च नगरौँ, मितव्ययी बनौँ’ भन्ने नारा सहित मञ्चले धार्मिक संस्कारहरूको संरक्षण अभियानलाई अघि बढाउँदै आएको छ । २०४८ सालमा देखी मञ्चले सुरु गरेको सामूहिक व्रतबन्ध, गुन्यु चोली संस्कार संयुक्त अनुष्ठानको रूपमा आयोजनालाई यसपालि पनि निरन्तरता दिएको महासचिव उद्धवप्रसाद अधिकारीले बताए ।
उनका अनुसार बढ्दो सहरीकरणले पारिवारिक रूपमा गरिने यस्ता अनुष्ठानहरू ठाउँको अभावका कारण पनि घरमा गर्न कठिनाइ हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएकाहरू संस्कार गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा संस्कारहरू, सांस्कृतिक परम्पराहरूलाई सामूहिक रूपमा सम्पन्न गर्ने कार्यलाई मञ्चको सामूहिक व्रतबन्ध कार्यक्रमले प्रोत्साहित गर्ने उनले बताए ।  
यसपालि सामूहिक संस्कारको तयारीका लागि इन्द्रनाथ बास्तोलाको संयोजक रहेको १५१ सदस्य व्यवस्थापन समिति गठन भएको छ । मूल समिति अन्तर्गत कार्य विभाजन गरी ११ वटा विभागीय उपसमितिहरू गठन गरिएका छन् । 
उपसमितिका संयोजकहरूमा दुर्गा काफ्ले प्रचार प्रसार, पङ्कज घिमिरे आर्थिक, अरुणा पोखरेल भोजन व्यवस्थापन, कमलप्रसाद भट्टराई मण्डप व्यवस्थापन, सुभद्रा सुवेदी पूजा व्यवस्थापन, नैनकला न्यौपाने स्वागत सत्कार, शान्ता अधिकारी, सह संयोजक भूपध्वज बुढाथोकी स्वयमसेवक व्यवस्थापन, सहसंयोजक राजेन्द्रकुमार भण्डारी खानेपानी व्यवस्थापन र अनुगमन तथा मूल्याङ्कन संयोजकमा हिमप्रसाद ओझा रहेको मञ्चले जनाएको छ ।