विराटनगर : धरान वडा नं. १३ का २० वर्षीय शुक्र भुजेल र २१ वर्षीय पवन अधिकारीलाई विराटनगरमा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर-१६ मा भारतबाट नेपाल तर्फ शङ्कास्पद अवस्थामा पैदल आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूबाट लागुऔषध बरामद भएको हो । बरामद लागुऔषमा लुपिजेसिक, एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल रहेको प्रहरीले जनाएको छ । 
यसैगरी झापाको बिर्तामोड नगरपालिका-९ का २२ वर्षीय अर्जुन आले र ३८ वर्षीय कृष्ण लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । उनीहरूबाट चेक जाँचको क्रममा १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।  
उदयपुर जिल्ला बराहा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-४ मा सन्दिग्ध ३ जना युवाहरूलाई चेकजाँच गर्दा लागुऔषध फेला परेकोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-३ का २० वर्षीय विशाल तामाङ, २४ वर्षीय प्रदीप तामाङ र २१ वर्षीय उमेश खत्री छन् । उनीहरूबाट प्रहरीले नाइट्राभेट ३२ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । 
यसैबिच इटहरी–६ को कबिर माध्यमिक विद्यालयबाट सोमबार ल्यापटप-२ थान र टिभी-१ थान चोरी गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१५ का २९ वर्षीय गौतम राई छन् । 
सिसी क्यामेरामा राईले चोरी गर्दै गरेको फुटेज देखिएकोले हुलिया परिपत्र गरी खोजतलास गरिएको थियो । खोजीको क्रममा सोमवार दिउँसो १० बजे इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले नेपाल-भारतको सीमा नजिक सडकमा राईलाई समान सहित पक्राउ गरेको हो । पक्राउ परेको राईको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।