विराटनगर : नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । 
विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । 
उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा  सुधार गरेकै कारण विकास भएको हो,” थोम्सनले भने । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले जिज्ञासा राखेका थिए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राखेका थिए । 
राजदूत थोम्सनले खुल्ला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएका थिए । थोम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
भेटमा महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी गराए । 
दुवै खोलामा तटबन्ध निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उनको भनाइ थियो । “महानगरको सीमित स्रोतले डुबान समस्याको दीर्घकालीन समाधान गर्न गाह्रो छ । डुबानको अस्थायी समाधान गर्नेतर्फ त लागेका छौँ,” उनले भने, “तर स्थायी समाधानका लागि ठुलो बजेट आवश्यक पर्छ । त्यसका लागि दातृ निकायसँग पहल गरिरहेका छौँ ।” 
विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । अध्ययनका लागि काठमाडौँपछि सबैभन्दा बढी विद्यार्थी विराटनगरमा आउने गरेको उनको दाबी थियो । भेटमा मेयर कोइरालाले प्रदेश-१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत बताए । 
उनले भने, “प्रदेशको पर्यटन विकासका लागि प्रादेशिक विमानस्थल बनाउनु जरुरी छ । यहाँबाट माउन्टेन फ्लाइट गर्दा काठमाडौँबाट भन्दा सस्तो पर्छ ।” राजदूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन मेयर कोइरालाले महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै दूतावासका तर्फबाट पनि तोकिदिन आग्रह गरे ।
उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । उपमेयर कार्कीले न्यायिक समितिले गरेका काम र अनुभव सुनाएकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरका विषयमा प्रकाश पारे ।