धरान : विराटनगरमा डेरा गरी बस्दै आएकी १९ वर्षीय एलिसा खड्काको रहस्यमय मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका- १५ घर भई विराटनगर बस्दै आएकी खड्काको १८ माघ राति रहस्यमय मृत्यु भएको हो । 

राती ९:१५ बजे विराटनगरस्थित कोसी अस्पतालमा पुर्‍याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए । एलिसाको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्कामा गरेको छ । 

घटना रहस्यमय रहेको कारणले प्रहरीले अस्पताल पुर्याउने साथी विराटनगर १२ घर भएकी २७ वर्षीय लक्ष्मी राजवंशीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् । उनीहरू लागू औषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ । माघ १८ गते राति खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर १२ मा रहेको छ । 

एलिसा बेहोस भएपछि लक्ष्मीले कोसी अस्पतालमा राति लिएर गएकी थिइन् । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले भने,  राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।’ 

पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था नभएको डिएसपी कार्कीले बताए । ।।।अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, । पोस्टमार्टम रिपोट आएपछि के भएर मृत्यु भएको खुल्नेछ ।’ पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पोस्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ । मृतक खड्का धरान घर भए पनि लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । उनी लक्ष्मीसँग होटेलमा काम गर्ने गरेकी थिइन् ।