इटहरी : नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको सिएनआइ कोसी एक्स्पो २०२३ मा कारोबार नभएपछि व्यवसायी निराश भएका छन् । भारी छुटका दैनिक उपभोग्य सामग्री र चटपटे बाहेकका स्टलमा ग्राहकको आकर्षण नभएको व्यवसायीको गुनासो छ। 
सप्तरीको बरमझियाबाट आएका पुरानो वैद्यनाथको प्रसिद्ध पेडा भण्डारका सञ्चालक रोम शाहले. व्यापार खासै नभएको बताए । स्टल भाडा तिर्न समेत हम्मे हम्मे पर्ने बताउँदै उनले सप्तरीबाट आएको खर्च उठाउनै समस्या परेको सुनाए । 
जेपिएस स्पेसल मसलाको स्टलमा पनि ग्राहकको आकर्षण छैन । खासै भिडभाड नभएको एक्स्पोमा ग्राहकको सङ्ख्या कमै भएको व्यवसायी बताउँछन् । विक्री गर्न भन्दा पनि डिस्प्लेको लागि आफूले स्टल राखेको बजार प्रबन्धक सञ्जय कुमार कर्णले बताए । मान्छेको आगमन कम भएपछि डिस्प्ले गराउने उद्देश्य समेत पुरा नभएको उनको टिप्पणी छ । 
सुन्दरहरैँचा नगरपालिकाबाट अपाङ्गहरूले समेत घरेलु उपभोगका निर्माण सामग्रीको स्टल राखेका छन् । स्टलमा बसिरहेका दृष्टि विहीन दुर्गानाथ योगी व्यापार खासै नभएको बताउँछन् । प्रचारको लागि राखेको भए पनि स्टल भाडा उठाउन सके आफूहरू सन्तुष्ट हुने उनको भनाई छ । अपाङ्गले बनाएर कुचो, डाला, नाङ्लो, मुढा, ठेकी लगायत सामग्री राखिएका छन् । 
२५ हजारमा स्टल लिएको बताउने पाथीभरा महुरीपालन उद्योगका भूषण पाठक खासै चर्चा नभएको बताउँछन् । पछिल्लो समय बजारमा पैसाको अभाव भएको सुनेका उनी त्यसैको प्रभाव एक्स्पोमा परेको तर्क गर्छन् । 
स्टलको भाडा तिर्न गाह्रो भएको ओसन पार्टको स्टलका सञ्चालक पवन कुमार खड्काले बताए । सुरुमा फुड स्टल मात्र दिने भनिए पनि पछि पुच्का र चटपटेको समेत ठेला राखेपछि व्यापार कम भएको उनको बुझाई छ । प्रदेश स्तरीय एक्स्पोले आफ्नो स्तरीयता दर्साउन नसकेको प्रस्ट पारे ।
उता परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे सोचेकै हिसाबमा उपस्थिति भएको बताउँछन् । सोमबार देखी साढे ३ बजेसम्मको १ सयमा पाउने टिकटलाई साढे ६ बजेसम्म सोही रेट राखेपछि झनै भिडभाड भएको उनको भनाई छ । साढे ६ बजेपछि आउनेको लागि २ सय नै कायम राखिएको उनले बताए । दैनिक औसतमा १० हजार नागरिकले अवलोकन गरिरहेको उनले प्रस्ट पारे । यसले पूर्वको व्यवसायीक गतिविधिलाई थप चलायमान बनाउने घिमिरेको विश्वास छ । 
माघ १९ गतेदेखि सुरु भएको एक्स्पो २८ गतेसम्म चल्ने छ । विभिन्न बहुराष्ट्रिय कम्पनी देखी स्थानीय उत्पादनको बजार प्रवर्धन गर्ने आयोजकको दाबी छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न र नयाँ प्रविधिको विकाशलाई प्रेरणा दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।
CNI-Koshi-4CNI-Koshi-3
CNI-koshi-Expo-2