इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेल जीवन पराजुलीलाई समर्थन गर्ने भएका छन्। मङ्गलवार दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको पराजुली प्यानलको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका हुन । 
उम्मेदवारी फिर्ताको समय गुज्रिएको अवस्था भए पनि पराजुलीको प्यानल समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको बताए । 
पार्टीले लेटर प्याडमा लेखेर अध्यक्ष बनाउने गलत परम्परा स्थापित हुन लागेको विरुद्ध आफू लागिपरेको घोषणा गरे ।
सुरुवात देखी नै सहमति गराउने उद्देश राखेको बताउँदै उनले इटहरीका अग्रज नेताहरूको कारण त्यो असफल भएको बताए । पराजुली नेतृत्वको प्यानल सबैले रुचाउने भएको आफ्नो मत पनि पराजुलीको प्यानललाई दिने उद्घोष गरे ।
पराजुली र वर्तमान महासचिव पोखरेल दुवै नेपाली काँग्रेस निकट व्यावसायि हुन । पोखरेल सहित वर्तमान अध्यक्ष भीम बहादुर पौडेल र पूर्व अध्यक्ष टङ्क प्रसाद दुलालले पराजुलीलाई समर्थन गरेका छन् । 
काँग्रेस इटहरी उपमहानगर सभापतिले भने गायत्री कटवाल भण्डारीलाई मतदान गर्न आग्रह गरेका छन् । एक अपिल प्रकाशित गर्दै पौडेलले काँग्रेसको आधिकारिक उम्मेदवार कटवाल भएको प्रस्ट पारेका हुन् । कटवाललाई पूर्व अध्यक्ष रोहित प्रसाईँको समर्थन छ । 
माघ २८ गते हुने निर्वाचनमा पराजुली, कटवाल सहित रन्जु सिग्देल र मणिन्द्र कटवाल बिच प्रतिस्पर्धा हुने भएको छ ।