सुनसरी : प्याब्सन प्रेसिडेन्ट रनिङ कप फुटबलको उपाधि मोरङको जुपिटर इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्रदेश १ को आयोजनामा इटहरीमा शनिवार सम्पन्न फाइनलमा जुपिटरले सुनसरीको महेन्द्र मेमोरियल स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । 
जुपिटरलाई उपाधि जिताउन शिव राईले निर्णायक गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच जुपिटरका दीपेश चौधरी भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जुपिटरकै शिव राई घोषित भए । महेन्द्र मेमोरियलका आशिस भगत हाईस्कोरर भए । विजेता जुपिटरले नगद २१ हजार सहित रनिङ ट्रफी हात पारेको छ । उपविजेता महेन्द्रले नगद ११ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्याब्सन प्रेसिडेन्ट रनिङ कप अन्तर्गत छात्र भलिबलको उपाधि झापाको कञ्चनजंगा इंगलिस स्कुलले जितेको छ । इटहरी रङ्गशाला स्थित भलिबल कोर्टमा शनिवार नै सम्पन्न फाइनलमा सुनसरीको पूर्वाञ्चल बोर्डिङ स्कुललाई पराजित गर्दै कञ्चनजंगाले उपाधि जितेको हो ।
प्रतियोगितामा सुनसरीकै महेन्द्र मेमोरियल स्कुल तेस्रो हुँदा मोरङको सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा कञ्चनजंगा स्कुलका प्रवेश काम्माङ बेस्ट स्पाइकर, विप्लव रसाइली बेस्ट ब्लकर घोषित भए । पूर्वाञ्चल सुनसरीका भेनष राई बेस्ट डिफेन्स, आशिष् राई बेस्ट सेटर र जीवन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
छात्रा भलिबलको उपाधि झापाकै सिद्धार्थ इंगलिस स्कुलले जितेको छ । सिद्धार्थले सुनसरीको पूर्वाञ्चल बोर्डिङ स्कुललाई पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा मोरङको ब्राइट फ्युचर स्कुल तेस्रो हुँदा सुनसरीको महेन्द्र मेमोरियल स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुल झापाकी प्राची गौतम भइन । प्रशन्ना बोहरा बेस्ट स्पाइकर भएन । ब्राइट फ्युचरकी सोनिया बस्नेत बेस्ट ब्लकर, समीक्षा चौहान बेस्ट सेटर, पूर्वाञ्चलकी अभिषा मगर बेस्ट डिफेन्स घोषित भए । 
छात्र छात्रा भलिबलमा प्रथम हुने टिमले नगद ३१ हजार सहित रनिङ शिल्ड हात पारेको छ । दोस्रो हुने टिमले २१ हजार र तेस्रो हुने टिमले ११ हजार पुरस्कार पाएको छ । दुई दिनसम्म चलेको प्रेसिडेन्ट कपमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा भएका जिल्ला स्तरीय खेलकुदमा छनोट भएका टिमको सहभागिता रहेको थियो ।