• रश्मि प्रधान
धरान : नेकपा माओवादी केन्द्र धरान नगरको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहिद तथा बेपत्ता परिवारको सम्झनामा भएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन भएको कार्यक्रम संयोजक सिपी बजगाईँले जानकारी दिए ।
सोमबार भएको रक्तदान कार्यक्रममा प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा मन्त्री चापागाईँले जनयुद्धमा घाइते तथा बेपत्ता परिवारलाई आरक्षणको व्यवस्था, सङ्घ प्रदेश र स्थानीय तह सबै मिलेर कार्य गर्नु पर्ने भन्दै जसको नीति उसकै नेतृत्वमा सरकार बनेको छ त्यसैले अब सङ्घीयताको मर्म बोध हुनेगरीको कार्य गर्नु पर्ने बताए । उनले प्रदेश सरकारको कार्यमा विश्वस्त हुन आग्रह गर्दै हाल सम्मको उपलब्धि जोगाउने गरी कार्य गरिने बताए ।
माओवादी केन्द्रका नगर अध्यक्ष मनोज भट्टराईले धरान उपमहानगरपालिका एकल ढङ्गबाट अगाडी बढी रहेको अहिलेको आवश्यकता भनेको एकता र सहमतिको खाँचो रहेको बताए । अहिलेको लडाई भनेको एकल  मनपरी तन्त्रको विरुद्ध रहेकोले स्थानीय नगर सञ्चालनलाई व्यवस्थित ढङ्गले सञ्चालन सहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघा, केन्द्रीय सदस्य उमिता बराइली प्रदेश सचिव मुक्साहाङ मेन्याङबो मुकेश तथा जिल्ला सदस्य तथा सम्पूर्ण जनबर्गिय सङ्गठनका विभिन्न तहका सद्स्यहरु तथा महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई, नेकपा एमालेका नगर अध्यक्ष हर्कजङ एभेङ, जसपा नगर अध्यक्ष ताजुब लिम्बु लगायतको उपस्थिति रहेको थियो ।