धरान : धरान १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् ।
धरान १७ को आदर्श चौक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट हुँदा ८ जना घाइते भएको धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।
कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउसो ग्यास चुहावट भएको थाहा पाएर बनाउने मानिस बोलाएर मर्मत गर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । ८ जना घाइते मध्ये ४ जना गम्भीर भएको वडाध्यक्ष भट्टराईले बताएका छन् ।
घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।
घाइते सबैको उद्धार गरी अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ग्यास चुहावट भएर विस्फोट हुँदा घरमा भने क्षति नभएको प्रहरीले बताएको छ ।