• रश्मि प्रधान

धरान : स्थानीय सरकार धरान उपमहानगरपालिकाको निर्णय अनुसार आज सोमवार देखी धरानको मुख्य बजारको सडकमा एकतर्फी सवारी नियम लागु गरिएको छ । पहिलो पटक 'वान वे' नियम लागु गरिएकोले एक साता सम्म सवारी साधनहरूलाई सचेतना गराइने छ। त्यसपछि नियम उल्लङ्घन गरे ५ सय देखी १५ सय रुपया सम्म जरिवाना गरिने सुनसरी जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । 

यसअघि सार्वजनिक सूचना गरिएको 'वान वे' आज देखी लागु गर्न बिहानै देखी ट्राफिक प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो । धेरै सवारी चालकहरूलाई एकतर्फी नियम लागु भएको थाहा नभएको देखियो । स्कुल बसहरूको आफ्नै रुट वान वे नियमले प्रभावित भएको पाइयो ।

बिच सडकबाट अधिकांश सवारीहरू 'वान वे'मा लाग्दा नयाँ र पुरानो जोड्ने सडकमा सवारी साधनको भिडभाड बढेको थियो । धेरैलाई भीभीआपी आउँदा ट्राफिक प्रहरीले सडक खाली गराउने जस्तै लागेकोले रमिता हेरिरहेको देखिन्थ्यो ।   

प्रदेश ट्राफिक कार्यालय प्रमुख श्याम कुमार महतोका अनुसार एक तर्फी सवारी सञ्चालन नियम लागु गर्न हप्ता दिन सम्म प्रदेशभरका सम्पूर्ण ट्राफिक जनशक्ति धरानमै खर्च  गरिने छ । उनले भने ‘एक हप्ता सम्म बानी बसाउन ट्राफिक सचेतता जगाउने छौँ ।’ सुरुमै जरिवाना नलगाउने बानी बसेपछि नियम लागुहुने र जरिवाना गरिने बताए ।  

स्थानीय सरकार प्रमुख हर्क साम्पाङले भने ‘धरानमा पहिलो पटक वान वे नियम लागू भएकाले एकै पटकमा समस्याको समाधान हुँदैन ।’ जनतालाई सचेतनाको आवश्यकता रहेकोले जनता सचेत भएपछि आफै नियम लागू हुने बताए ।

one-way-2जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज श्याम कुमार बस्नेतले भने ‘एक हप्ता सम्म सचेतता गराएपछि ५०० देखि १५०० सम्म जरिवाना लगाइने छ ।’ उनका अनुसार नयाँ अभ्यास भएकाले बिस्तारै सहज हुनेछ ।

भानु चोक देखि लक्ष्मी चोक सम्म एक तर्फी हुँदै पुन:लक्ष्मी चोक देखि पुरानो बजार हुँदै भानुचोक सम्म सम्पूर्ण चार पाङग्रे, दुई पाङग्रे सबै सवारी साधनहरूमा वान वे नियम लागु हुने उनले बताए ।

धरानमा लागु गरिएको एक तर्फी यातायात सञ्चालनले भानु चौकको भिडभाड भने कम गर्ने देखिन्न । भानुचौक मास्तिरको मुख्य बजारमा साँझ बिहान हुने ट्राफिक जामलाई भने राहत दिने देखिन्छ । सामाजिक अभियन्ता प्रेमप्रसाद पराजुलीले भने ‘केही दिन पिक आवरमा सवारी एकतर्फी गराउँदै लैजाँदा नियम लागु गर्न सहज हुन्थ्यो ।’

पछिल्लो समय कार्यालय समय र किनमेलको बेला मुख्य बजार क्षेत्रमा सवारी साधनको चाप बढेकोले ट्राफिक जाम हुने गरेको देखिएको छ । सडकमै मोटरसाइकल, सवारी साधन पार्किङ गरिँदै आएकाले पनि ट्राफिक समस्या बढेको हो । त्यस्तो पार्किङ निषेध गर्ने तर्फ पनि स्थानीय सरकार र ट्राफिक प्रहरीको ध्यान जान जरुरी छ ।