धरान : धरान-१७ मा ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका ८ जना मध्ये दुई जना बालबालिका अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी छ जनालाई काठमाडौँ पठाइएको छ ।
धरान-१७ को आदर्श चौक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट हुँदा ८ जना घाइते भएका थिए ।
कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउसो ग्यास चुहावट भएको थाहा पाएर बनाउने मानिस बोलाएर मर्मत गर्न क्रममा साँझ ग्यास सिलिन्डर विस्फोट भएको थियो ।
८ जना घाइते मध्ये अहिले २ जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ। गम्भीर घाइते मध्ये २७ वर्षीय सविता राई र २२ वर्षीय सोनिका राईलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाण्डौको बर्न अस्पताल कीर्तिपुर पठाई सकिएको र बाँकी दुई जना कोसी ग्यासका कर्मचारी १९ वर्षीय अनीश कार्की र १८ वर्षीय वासुदेव खड्कालाई पनि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिएका छन् ।
थप दुई जना घाइते ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राईलाई भने प्लेनबाट काठमाडौँ पठाइएको छ । बिहान ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई भने डिस्चार्ज भएका छन् ।