धरान : धरान एक्सपोमा स्वदेशी उत्पादनका बिच विदेशी दैनिक प्रयोगमा आउने सामग्रीहरू उपभोक्ताले किनमेल गर्न पाउने आयोजक समितिले जनाएको छ । एक्स्पो बिहीबार फागुन ११ देखी धरान-१६ स्थित धरान रङ्गशालामा सुरु हुँदैछ । 
एक्सपोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूका स्टलहरू ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहने बताइएको छ । स्टल संयोजक विष्णु बरालका अनुसार विदेशी सामाग्रीका कुल १५ वटा स्टलहरू एक्सपोमा हुनेछन् ।
पाकिस्तान जनावरको छालाबाट बनेको लेदरका सामानहरू उत्पादन गर्ने मुलुकको रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्सपोमा महिला पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
बङ्गलादेशको गार्मेन्टका उत्पादनहरू महिलाहरूका कुर्ता, सुरुवाल, साडी, बालबालिकाका पोसाक आकर्षणको स्टल बन्ने अनुमान गरिएको छ । बङ्गलादेशको गरमेन्टका महिला, पुरुषका पोसाकहरू युरोप, अमेरिकी मुलुकहरूमा निर्यात हुँदै आएको छ । 
भारतीय उत्पादन गार्मेन्टका साथै दैनिक भान्सा तथा घरायसी कामधन्धामा आवश्यक उपकरण, सामग्रीहरू एक्स्पोमा आउनेहरूका लागि किनमेलको आकर्षण बन्ने संयोजक बरालले बताए । भारतीय साडी, कुर्ता सुरुवाल किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।
पछिल्लो समय घरायसी कामका ससाना उपकरणहरूले भान्सामा गृहिणीहरूको कामलाई सहज बनाएको छ । तरकारीको बोक्रा ताछ्ने देखि भाँडा बर्तन सफा गर्ने उपकरणहरू पनि बजारमा पाइन्छन् । एक्सपोमा त्यस्ता सामान ब्राण्डेड कम्पनीको पाइने सुविधा उपलब्ध हुने बताइएको छ ।
विदेशी उत्पादनहरू भन्दा बढी स्टलहरू स्वदेशी उपभोग्य वस्तुहरूको स्टल एक्स्पोमा हुनेछन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट एक्सपोमा रहने छ । जुम्लाको भीर मौरीको मह, माछाको अचार देखी अर्ग्यानिक बेसार सम्म एक्सपोमा किनमेल गर्ने अवसर जुटाइएको छ ।  
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्सपोको तयारी प्रायः पुरा भएको छ । १० दिन सम्म लाग्ने औद्योगिक उत्पादन व्यापार मेला एक्सपो धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न र पर्यटन प्रवर्द्धनका लागि सङ्घले आयोजना गरेको हो । 
प्रदेश १ स्तरीय एक्स्पो भएकाले प्रदेशका आठै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरका व्यवासयीहरुको एक्स्पोमा सहभागिता हुने एक्सपो आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले बताए ।