सुनसरी : विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान-१७ स्थित हराइजन बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरान माथि ४६ का विरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसलाई विजयी गराउन व्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पाए ।

पुलिसले अब सेमिफाइनलमा आगामी बिहीबार आयोजक हराइजन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले हिजो भएको उद्घाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का विरुद्ध ७२ स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

भोलि मङ्गलवारको खेल डिफेण्डिंग च्याम्पियन तथा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको टाइम्स क्लब काठमाडौँ र विराटनगर बास्केटबल एकेडेमी बिच हुनेछ ।

फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई विभागीय सहित ८ टिमको सहभागिता छ ।