धरान : डिफेण्डीङ च्याम्पियन टाइम्स कलेज काठमाडौँ सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा आज मंगलबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा विराटनगर बास्केटबल एकेडेमीलाई ६० का विरुद्ध ८९ स्कोरले पराजित गर्दै टाइम्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
टाइम्स र विराटनगर टिमले प्रत्येक क्वाटरमा १८-१४, १६-१८, ३०-११, २५-१७ स्कोर जोडेका थिए । पहिलो क्वाटरमा ४ स्कोरले पछि परेको विराटनगर टिमले दोस्रो क्वाटरमा २ स्कोरको अग्रता बनाए पनि तेस्रो र चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
ब्यक्तिगत ११ स्कोर गरेका विराटनगर टिमका सुजन लिम्बु प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पाए ।
भोलि बुधवारको अन्तिम क्वाटर फाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँ र कलैया बास्केटबल टिम बारा बिच हुनेछ ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ ।