सुनसरी : सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
आज शनिवार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ७० का विरुद्ध १०० स्कोरले पराजित गर्दै ५ औँ संस्करणको विजेता आर्मीले दोस्रो पटक उपाधि जितेको हो ।
विभागीय डर्बीमा भएको उपाधि भिडन्तमा पहिलो र दोस्रो क्वाटरमा झिनो स्कोरले अग्रता कायम गरेको आर्मीले त्यसपछिको बाँकी दुई क्वाटरमा फराकिलो स्कोर निकाल्दै सहज जीत हात पारेको हो । उपाधि विजेता आर्मीले नगद १ लाख ११ हजार र उपविजेता पुलिसले नगद ५५ हजारमा प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जन भए । उनले नगद १० हजार पुरस्कार पाए ।
आर्मीकै पूर्णबहादुर खड्का उत्कृष्ट कोच घोषित हुँदै नगद ३ हजार पाए । उदीयमान खेलाडी आयोजक होराइजन क्लबका सर्वधन राई घोषित हुँदै नगद ५ हजार पाए ।
पुलिसले पहिलो सेमिफाइनलमा आयोजक हराइजनलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने गत वर्षको उपविजेता समेत रहेको आर्मीले अन्तिम सेमिफाइनलमा साबिक विजेता टाईम्स कलेज काठमाण्डौलाई पराजित गरेको थियो ।
फागुन २१ गते देखी भएको प्रतियोगितामा दुई विभागीय सहित ८ टिम सहभागी थिए ।